लण्डन। बेलायतमा नेपाली रफी नै मानिएका बुनियाद गीतका ख्यातिप्राप्त गायक सपन कुमार राईले नेपालमा सर्वोत्कृष्ट गायनको अवार्ड जितेका छन्। नेपालमा पहिलोपटक आयोजना भएको ‘स्पर्श म्यूजिक भिडियो अवार्ड २०२०’ मा उत्कृष्ट गायक अवार्ड गायक सपन कुमार राईले जितेका हुन्।

सपनले गाएको ‘बाटोको काँडा हटाइदिए।।’ बोलको गीतको लागि यो अवार्ड मिलेको हो। चर्चित संगीतकार ताराप्रकाश लिम्बूको संगीत तथा शब्द रहेको यसको गीतको म्यूजिक भिडियो करिब ६ महिनाअघि बेलायतवाट रिलिज भएको थियो।

शनिबार ललितपुरमा सम्पन्न अवार्ड वितरण समारोहमा सोही गीतको म्यूजिक भिडियो समेत निर्देशन गरेका निर्देशक मिलन चाम्सले सपनको अवार्ड थापेका थिए।

विश्वविख्यात भारतीय गायकहरु मोहम्मद रफी, किशोर कुमार र कुमार सानुका एक से एक गीतलाई मज्जाले उनीहरुकै आवाज तथा शैलीमा गाउन सक्षम नेपाली गायक भएको कारण सपन कुमार राईलाई कतिले रफी त धेरैले किशोर कुमार तथा कुमार सानु पनि भन्ने गरिएको छ।

प्रकाशन मिति–२०७७ साल पुस १८ गते शनिवार ।