London Crime]लन्डन । बेलायतको राजधानी लन्डनस्थित चर्चित लन्डन ब्रिजमा आतंककारी शनिवार आक्रमण भएको छ। भ्यानमा आएका तीन जना हतियारधारीले लन्डनब्रिजमा पैदलयात्रुलाई ठक्कर दिँदै अन्धाधुन्ध छुरा प्रहार गरेको अधिकारीहरुले जनाएका छन्।

घटनामा कम्तिमा ५/६ जनाको मृत्यु भएको जनाइएको छ । यद्यपि मृतकको संख्याबारे यकिन विवरण सार्वजनिक भइसकेको छैन । प्रहरी स्रोतले प्रारम्भमा एकजनाको मृत्यु भएको पुष्टि गरे पनि केही अन्तर्राष्ट्रिय संचारमाध्यमले ५/६ जनाको मृत्यु भएको विभिन्न स्रोतलाई उद्धृत गर्दै जनाएका छन् । हमलामा कम्तीमा ६ जना घाइते भएका छन् । लन्डन प्रहरीले यो घटनालाई आतंककारी आक्रमण भनेको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार सडक पेटीमा हिँडिरहेका मानिसलाई लक्षित गरी आतंककारीहरुले सेतो रंगको भ्यान गुडाएका थिए । घटनापछि लन्डन ब्रिजमा आवागमनमा रोक लगाइएको छ। प्रहरीले अभियुक्तहरुको खोजी जारी राखेको र अनुसन्धान शुरु गरिएको जनाएको छ।

यसैबीच लन्डन प्रहरीले आक्रमण भएको ब्रिज नजिकैको बजारमा क्षेत्रमा पनि छुरा हमला भएको र त्यसबारे पनि अनुसन्धान भइरहेको जनाएको छ । घटना भएको स्थान लन्डन रेलवे स्टेसन नजिक पर्छ । घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

बेलायतकी प्रधानमन्त्री टेरेसा मेले सो घटनालाई आतंकवादी आक्रमणका रुपमा लिइएको बताएकी छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सो घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले ट्वीट गर्दै बेलायत सरकारलाई आतंकवादविरुद्धको लडाईमा हरसम्भव सहयोग गर्न आफू तयार रहेको जनाएका छन् ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ २१ गते आइतवार ।