Blind-Rocks-Posterलण्डन । बेलायतमा मिलन चाम्स निर्देशित बायोपिक नेपाली चलचित्र ‘ब्लाइन्ड रक्स’ प्रदर्शन भएको छ। बेलायतको अल्डरसटस्थित प्रिन्सेस हलमा रेड कार्पेट ग्राण्ड प्रिमियर भएको हो।

दृष्टिविहीनहरुको हक अधिकार सुनिश्चित गर्न क्रियाशिल संस्था ब्लाइन्ड रक्सकी संस्थापक सृष्टि केसीकै वास्तविक जीवनमा यो चलचित्र बनेको निर्माताको दावी रहेको छ। चाम्स इन्टरटेनमेन्ट र एन फिल्मस एण्ड क्रियसनको ब्यानरमा बनेको यो चलचित्र प्रेरणादायी बन्न सफल भएको चलचित्र हेर्ने प्राय दर्शकको प्रतिक्रिया रहेको छ।

प्रिमियर शोमा आमासंगै सृष्टि केसी पनि पुगेकी थिइन्। सयौं दर्शकहरुका माझ चलचित्रको प्रिमिएर भईरहँदा धेरैको आँखा रसाए। चलचित्र निर्माण टिमबीच सृष्टि केसीले भनिन्– ‘आजबाट सृष्टिले दृष्टि पाउनेछिन्, उनको सपनामा हजारौं आँखा थपिएका छन्।’ ताली गडगडाहट नरोकिंदै सृष्टि केसी थप्दै थिइन्, ‘यस फिल्मले मेरो वास्तविक जीवन चित्रण गरेको छ। मलाई आशा छ यसले दृष्टिविहीन र अपांगता भएकालाई हेर्ने दृष्टिकोणमा आमुल परिवर्तन ल्याउने छ।’

Blind-Rocks-UK-Premierकार्यक्रममा निर्देशक मिलन चाम्स र निर्माता निकेश लिम्बुले ‘बायोपिक’ फिल्म व्यवसायिक र चर्चाको हिसावले जोखिमयुक्त भएपनि आफूहरुले समाज परिवर्तनको उद्देश्य राखेर जोखिम ग्रहण गरेको बताए। चलचित्रमा नायिका बेनिसा हमाल सृष्टिको भूमिकामा देखिएकी छिन। गौरी मल्ल, बैंकर अनिल शाह, अर्पण थापा, नाजिर हुसेन लगायतका कलाकारको पनि जिवन्त अभिनय यो चलचित्रमा हेर्न सकिन्छ।

प्रकाशन मिति–२०७४ साल साउन २३ गते सोमवार ।