काठमाडौं। कोरोनाको महामारीका कारण बेलायतमा लकडाउन घोषणा भएको छ। दोश्रोपटक बेलायतले लकडाउन घोषणा गरेको हो । कोरोना संक्रमणको दोस्रो लहर फैलिँदै गएपछि यही हप्ताको विहीबारदेखि चार हप्ताका लागि लकडाउन घोषणा गरिएको हो।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी यो पटकको लकडाउनमा पहिले जस्तो स्कुल, कलेज तथा विश्वविद्यालयहरू भने बन्द नहुने जानकारी दिएका छन्। अत्यावश्यक वस्तुबाहेकका अन्य पसलहरू पूर्णरूपमा बन्द रहने बताइएको छ। हस्पिटालिटी क्षेत्रमा रेस्टुरेन्ट र पबहरू बन्द रहने भए पनि टेक–वे पसलहरू भने खुल्ने बताइएको छ।

पछिल्लो पटक कोरोना सङ्क्रमणको सङ्ख्या एक्कासि बढेपछि कुन तहको बन्द गर्ने भन्ने सवालमा सरोकारवालाहरूसँग करिब तीन हप्ता गरेको छलफलबाट बन्द गर्ने निष्कर्षमा सरकार पुगेको हो। आगामी डिसेम्बर २ तारिखपछि बन्दाबन्दी अलि खुकुलो हुने र सबै काममा फर्कन सजिलो हुने बताइएको छ।

यसअघि बेलायतमा यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा खुला गरिएको थियो।


प्रकाशन मिति–२०७७ साल कात्तिक १६ गते आइतवार ।