काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले नेपालको सरकारी बाल अस्पताल कान्ति बाल अस्पताललाई कोविड परीक्षण गर्ने पीसीआर मेसिन प्रदान गरेको छ। महामारीमा बाल सुरक्षाका लागि अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण महानगरपालिकाले हस्तान्तरण गरेको हो।

महानगरपालिकाको मेयरको कार्यालय राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले अस्पतालका निर्देशक कृष्ण पौडेललाई पिसीआर (न्युक्लेइक एसिड एम्प्लिपिकेसन एण्ड डिटेक्सन एनालाइजर) मेसिन हस्तान्तरण गरेका हुन्। महानगरलाई भगिनी सहर चीनको नानजिङले दुईवटा यस्ता मेसिन उपलब्ध गराएको थियो।

तीमध्ये एक थान कान्ति बाल अस्पताललाई हस्तान्तरण गरिएको मेयर शाक्यले वताएका छन् । मेसिन हस्तान्तरण अघि प्रमुख शाक्यको रोहवरमा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले मेसिन लिनेदिने सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

काठमाडौं महानगरपालिकाले कान्तिबाल अस्पताललाई अक्सिजन प्लान्ट राख्न आर्थिक सहयोग गरेको मेयर शाक्यले वताएका छन्। यसअघि पनि काठमाडौं महानगरपालिकाले थापाथली स्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा कोरोना (कोभिड १९) को परीक्षणका लागि पीसीआर मेसिनसहितका अत्यावश्यक सामाग्री हस्तान्तरण गरेको थियो।


प्रकाशन मिति–२०७७ साल कात्तिक १७ गते सोमवार ।