लण्डन। हाल बेलायतमा बसोवास गर्दैआएकी प्रतिभाशाली गायिका दिप्ता थापाको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। यो जिन्दगी बोलको गायिका थापाको गीतको भिडियो बेलायतवाटै सार्वजनिक भएको हो। गीतको भिडियोको बेलायतका लागि नेपाली राजदूत डा.दुर्गावहादुर सुवेदीले विमोचन गरेका हुन्।

विमोचन कार्यक्रममा राजदूत सुवेदीले गायिका दिप्ता थापाको पिता दीपक थापाको परिवारले बंशाणुगत विरासत नै पाएको वताउंदै थापाको संगीत कर्मको मुक्तकण्ठले प्रशंशा गरेका थिए। थापा बेलायतमा नेपाली गीत संगीत तथा संस्कृतिको एक अब्बल स्रष्टा तथा उत्तराधिकारी रहेको राजदूत सुवेदीको भनाई छ ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले बेलायतको भूमिमा रहेर मातृभाषामा यो गीत तयार गरेको थाहा पाउँदा आफू सबैको पहिचान उँचो भएको भन्दै आगामी दिनमा पनि यसैगरी अघि बढ्न सुझाव दिइन् । कार्यक्रममा बोल्दै बेलायती नागरिक तथा कला प्रेमी डि मेरी जोसले पनि कलाकार दिप्ताको स्वरको खुलेर प्रशंसा गरेकी थिइन् ।

डाटफोड समाज यूकेका अध्यक्ष गजेन कटुवालले नया पुस्ताहरुले यस प्रकारको पहिचान स्थापना गर्दा अभिभावकहरुलाई गर्वको महसुस हुने बताए । यूकेमा बीबीसी मास्टर सेफको सेमिफाइनल प्रवेश गर्ने पहिलो नेपाली सेफ सन्तोष शाहले पनि शुभकामना दिदै आफूपनि बेलायतमा नेपाल र नेपालीलाई चिनाउने गरी बीबीसी कार्यक्रममा खाना पस्कने कार्यक्रम गर्दैआएको बताए।

गीतमा गायिका दिप्ता थापाको गायन रहेको गीतमा शिखर सन्तोषको संगीत, सन्जीत देउजाको शब्द सिर्जना रहेको छ। दिप्ताका पिता दिपक थापाले बजारमा ल्याएको उक्त गीतमा कोरियोग्राफरको भूमिका दिप्ताकै आमा सुनिता गौतमले गरेकी छन् । नर्सिङ्ग एसोसियसन यूकेकी उपाध्यक्ष समेत रहेकी गायिका दिप्ता थापाकी आमा सुनिता गौतम पनि यूकेमा प्रतिष्ठित डान्सर तथा गायिकाको रुपमा परिचित छिन् । नविन निरौलाले कलर गरेको भिडियोको छायाङ्कन, एडिट र निर्देशन बेलायतका कुशल सञ्चारकर्मी तथा निर्देशक कुशल श्रेष्ठले गरेका हुन्।

प्रकाशन मिति–२०७७ साल मंसीर १२ गते शुक्रवार ।