काठमाडौं। लकडाउनका कारण जनजीवन कष्टप्रद भैरहेको बर्तमान अवस्थामा वैशाख २५ गतेपछि खुकुलो बनाउने कसरतमा सरकार रहेको छ। नेपालका विभिन्न जिल्लाहरुमा देखिएको जोखिमका आधारमा अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्ट्याएर केही खुकुलो बनाउनेबारे छलफल भइरहेको बताइएको छ।

इमेज खवरको समाचार अनुसार, गत चैत ११ गतेवाट निरन्तर रहेका देशव्यापी लकडाउनको अवधि वैशाख २५ गते सकिने भएकाले त्यसपछि के गर्ने भन्नेमा सरकारले विभिन्न मोडालिटीमा छलफल गर्न थालेको हो। बैशाख २५ गतेपछिको लकडाउनमा अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्ट्याएर केही खुकुलो बनाउनेबारे सरकारमा छलफल भैरहेको छ।

आइतवार मन्त्रीपरिषदको बैठकमा यसवारेमा छलफल भएतापनि निश्कर्षमा भने पुगिनसकेको जनाइएको छ। मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री केपी ओलीले सीमा नाकाहरुमा कडाई गर्न निर्देशन दिएका छन्। भारतबाट कोरोना भित्रिन नदिन सिमानामा अझै कडाइ गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन्।

बैठकमा मन्त्रीहरुको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले तत्काल भारतमा रहेका नेपालीलाई ल्याउन नसकिने पनि बताएका थिए। भारतमा लकडाउन लम्बिँदा अलपत्र परेका नेपालीलाई के गर्ने भन्ने सम्बन्धमा ओलीले तत्काल भारतबाट मानिस आउन दिनु जोखिम हुने भन्दै उक्त निर्णय गर्न नसकिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमण रोक्न र मृत्युदर शुन्यमा झार्ने एउटै विकल्प लकडाउन भएकाले त्यसको कडाइसाथ पालना गराउन गृहमन्त्रीलाई निर्देशन दिएका छन्। भारतसँगको नाकाहरु सिल गरिए पनि लुकिछिपी मान्छेहरू आइरहेका सन्दर्भमा भारतीय पक्षसँग पनि छलफल गरी कडाई गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन।
प्रकाशन मिति–२०७७ साल बैशाख २१ गते आइतवार ।