काठमाडौं। ब्रम्हचक्र महाविहार ओमवहालका मूलचक्रेश्वर मोतिरत्न बज्राचार्यलाई मूलचक्रेश्वराभिषेक गरिएको छ। बौद्ध धर्मअनुसार दिइने अति सर्वोच्च तथा सम्मानित पद मूलचक्रेश्वराभिषेक अर्थात दे थायपा प्रदान गरिएको हो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा बौद्ध विव्दान तथा धर्म गुरुहरुव्दारा बज्राचार्यलाई उक्त पदमा पदासिन गराइएको थियो। नेपालमा प्रचलित बौद्ध धर्मको तीनवटा निकाय मध्ये बज्रयान बौद्ध धर्म, महायान बौद्ध धर्म, श्रावकयान बौद्ध धर्महरु (स्थविरवाद बौद्ध धर्म) मध्ये परापूर्वकालदेखि अविच्छिन्न रुपमा चल्दैआएको बज्रयान बौद्ध धर्म नेपालको मौलिक बौद्ध धर्म हो।

यिनै बज्रयान बौद्ध धर्म अन्तर्गत सयौं–हजारौं संख्यामा रहेका बज्रयानी महाविहार–बाहाःबहिःहरुको संघ परम्परा दे आचार्य गुठीको  मूलचक्रेश्वर (दे थायपा) पदलाई बौद्ध बज्राचार्यहरुले सर्वोच्च अनि सम्मानित मान्ने गरेको छ।

मूलचक्रेश्वर (दे थायपा)  पदमा पदासिन भएका ब्रम्हचक्र महाविहार, ओम बाहाःका श्रद्धेय मूलचक्रेश्वर मोतिरत्न बज्राचार्यलाई बधाई ज्ञापन गर्दै प्रमुख अतिथि मेयर शाक्यले बौद्ध धर्म र नेपालका महामानव भगवान बुद्धले दिएका मार्गदर्शनलाई सवैले पालना मात्र गर्न सकेमा पनि जीवन सार्थक हुने र सामाजिक विकास हुने वताएका छन्। (अग्रज अन्तरसञ्चारकर्मी धर्मराज बज्राचार्यको सहयोगमा)
प्रकाशन मिति–२०७७ साल मंसीर १७ गते बुधवार ।