–श्याम स्मृत
काठमाडौं। नेपाली हांस्य कलाकारितमा कलाकार महादेव त्रिपाठीको बेग्लै नाम रहेको छ। बेग्लै कलात्मक शैलीवाट हांस्य कलाकारिता गर्दैआएका कलाकार महादेव त्रिपाठीको हांस्य अभिनयमा बेग्लै स्थान रहदैआएको हो।

विशेषत् नेपाली हांस्य क्षेत्रमा प्रेमचरो उपनामले अत्यन्त ख्याति कमाएका हांस्य अभिनेता नारायण त्रिपाठीको संगत तथा उनकै प्रेरणावाट महादेव त्रिपाठी हांस्य कलाकार महादेव त्रिपाठी बनेका हुन। कला क्षेत्रमा प्रवेश गर्दा लामो समय प्रेमचरो नारायण त्रिपाठीसंगको उठबस तथा संगत अनि नारायण त्रिपाठीकै हांस्य अभिनय शैलीलाई पछ्याउंदै आफू हांस्य कलाकार भएको दिल खोलेर महादेव त्रिपाठीले भनेका छन्।

महादेव त्रिपाठी आफ्नो आदर्श तथा गौरब प्रेमचरो नारायण त्रिपाठी नै भएको भन्छन्। यिनै हांस्य कलाकार महादेव त्रिपाठीले कलाकारितामा योगदान दिएवापत एकपछि अर्को दर्जनौ दर्जन सम्मान पाइसकेका छन्। हालै सेकेण्ड नेशनल इन्टरटेन्टमेन्ट अवार्ड २०७९ मा बेस्ट कमेडी एक्टर अवार्डवाट अवार्डेट बनेका छन्। यसअघि पनि बेस्ट कमेडी एक्टर अवार्डवाट ग्लोबल नेपाली फिल्म अवार्डसमेत पाइसकेका छन्।

महादेव त्रिपाठी नेपालका चर्चित हाँस्यकलाकार मात्र नभइकन जादुगर समेत हुन् । देश–विदेशमा पुगेर त्रिपाठीले सारालाई हँसाएका छन् अनि जादू देखाएर सवैलाई तीनछक्क तथा अठार दंग नै पारेका छन् । सँधै अरुलाई हँसाउदैआएका महादेव त्रिपाठीको जिन्दगीको कथा भने दुखान्त रहेको छ। हाँसो–खुशीले भन्दा आँसुले धेरै स्थान पाएको छ।

सिन्धुपाल्चोक जिल्लामा जन्मिएका त्रिपाठीको परिवार द्वन्द्वपीडित हो । माओवादीले चलाएको १० वर्षे द्वन्द्वमा त्रिपाठीले आफ्ना बाबुलाई गुमाउनु प-यो । नेपाल प्रहरीमा कार्यरत उनका बाबुको २०५८ सालमा माओवादी व्दन्दमा हत्यापछि पीडामा परेका त्रिपाठी सिन्धुपाल्चोकबाट काठमाडौ छिरे । अनि कला क्षेत्रमा ठूलै संघर्ष गरे । सोही कठिन भन्दा कठिन संघर्षवाट अहिले नेपालका चर्चित हाँस्य कलाकार तथा जादुगरका रुपमा महादेव त्रिपाठी चिनिएका छन् ।

हालसम्म ४० वटाभन्दा बढी साना तथा ठूला पर्दाका चलचित्रमा अभिनय गरिसकेका छन्। आफ्नै निर्माण तथा निर्देशनमा जादूगर र जोकर नामक दुई चलचित्रमा अभिनय गरेर बेग्लै रेकर्ड कायम गरिसकेका छन्। कलाकार मात्र नभइकन, निर्माता तथा निर्देशकको हैसियत पनि बनाइसकेका छन्।

त्यस्तै, सामाजिक क्षेत्रमा कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर ७ मूलपानीमा बालआश्रम स्थापना गरेर नौलो आयाम कायम पनि गरिसकेका छन्। जुन सामाजिक क्षेत्रमा महादेव त्रिपाठीको उल्लेखनीय कार्यमा गनिएको छ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७९ साल भाद्र १८ गते शनिवार ।