काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ तीजको दिन सोमवार फिनल्याण्ड प्रस्थान गरेका छन्। वल्र्ड टुरिजम समिटमा भाग लिन महानगरका मेयर र उपमेयर फिनल्याण्ड प्रस्थान गरेका हुन्।

वल्र्ड टुरिजम सिटिज फेडेरेसन र सिटिज अफ हेल्सिङ्कि फिनल्याण्डको संयुक्त आयोजना शुरु भएको सम्मेलनमा भाग लिन मेयर तथा उपमेयर त्यसतर्फ प्रस्थान गरेपछि काठमाडौं महानगरपालिकाका कार्यवाहक मेयर भरतलाल श्रेष्ठ बनेका छन्। मेयर तथा उपमेयर फिनल्याण्डको कार्यक्रम सकाएर पाँच दिनपछि नेपाल फर्कने भएको छ।

मेयर तथा उपमेयर नेपाल नफर्कञ्जेलका लागि काठमाडौं महानगरपालिका वडा नंबर १ का ज्येष्ठ वडा अध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यवाहक मेयरको जिम्मेवारी दिइएको काठमाडौं महानगरपालिकाले जनाएको छ। काठमाडौं महानगरपालिकाको कार्यवाहक मेयरको जिम्मेवारी भरतलाल श्रेष्ठले यसअघि मेयर तथा उपमेयरको अमेरिका भ्रमणको बेला पनि पाएका थिए।

Photo By-Chandramani Bhattarai/KMC

प्रकाशन मिति–२०७६ साल भदौ १६ गते सोमवार ।