काठमाडौं। काठमाडौं महानगरपालिकाको नगरसभाको आठौं अधिवेशनले पुस मसान्तसम्मका लागि सम्पत्ति करमा दिएको छुटलाई थप चैत्र मसान्तसम्म दिने निर्णय गरेको छ। कोरोनाको महामारी कायमै रहेकोले काठमाडौं महानगरबासीलाई दिइएको कर छुटको सुविधा थप ३ महिनासम्म बढाइएको हो।

थप ३ महिनासम्म कर छुटको व्यवस्थावाट महानगरवासीलाई थप राहत पुग्ने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको भनाई छ। मेयर शाक्यको अध्यक्षतामा भएको नगरसभाको आठौं अधिवेशनमा तीन विधेयक पेश भएको छ।

ती विधेयकमा ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक– २०७७’, ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक– २०७७’ र ‘काठमाडौं महानगरपालिका संस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक– २०७७’ रहेका छन्।

ती विधेयकहरु विभागीय प्रमुखहरु क्रमशः हरिकुमार श्रेष्ठ, हरिबहादुर भण्डारी र दीपक अधिकारीले प्रस्तुत गरेका थिए। यी विधेयकहरु आगामी माघ ७ गतेको बैठकमा निर्णयका लागि पेश हुने महानगरपालिकाले जनाएको छ।

त्यस्तैगरेर, चालु आर्थिक बर्षको ५९ वटा कार्यक्रममा संशोधन प्रस्ताव गरिएको छ। यसरी प्रस्ताव गरिएका कार्यक्रमहरुमा निःशुल्क वितरणका लागि औषधि खरिद, सार्वजनिक सम्पत्तिको मर्मत तथा संरक्षण, स्वास्थ्य उपकरण खरिद, मठमन्दिर, गुठीघर, देवता घरजस्ता सांस्कृतिक संरचनाको पुननिर्माण, मर्मत सम्भार तथा सौन्दर्य बढाउने, सडक स्तरोन्नति गर्ने, ढल तथा मंगाल निर्माण गर्ने काम रहेका छन्।

त्यस्तै सरकारी र सामुदायिक अस्पतालहरुसँग सहकार्य, यातायात तथा सुरक्षा व्यवस्थापन नगर साझेदारी कार्यक्रमलगायत छन्।
प्रकाशन मिति–२०७७ साल पुस २७ गते सोमवार ।