काठमाडौं। नेपाल कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री हुने सम्भावना रहेको बताएका छन्। पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोधमा भरतपुरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै सभापति देउवा फेरि प्रधानमन्त्री बन्ने व्यापक सम्भावना भएको बताएका हुन्।

चुनाव–चुनाव भन्न आवश्यक नरहेको र देउवा नै फेरि प्रधानमन्त्री बन्ने दाबी नेता पौडेलले गरेका छन् । पौडेलले नेपाल कम्युनिस्ट पार्टी फुटेकाले प्रतिनिधिसभा पुनःस्थापना हुँदा पनि नेपाली कांग्रेस नै निर्णायक शक्ति बन्ने बताउँदै चुनाव–चुनाव भन्न जरुरी नरहेको बताए।

‘पार्टी सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री हुने सम्भावना छ, अब प्रतिनिधिसभामा नेपाली कांग्रेसको पछि अरू पार्टी लाग्छन् । तालुमा आलु फलेको भनेझैँ हाम्रो सभापति फेरि पनि प्रधानमन्त्री हुन बेर छैन। त्यसैले, हतारिएर लोकतन्त्र विरोधी भएर चुनावमा जान अहिले आवश्यक छैन । हामी संविधानलाई बचाएर मात्र चुनावमा जाने हो।’ पौडेलले भने ।


प्रकाशन मिति–२०७७ साल माघ ३ गते शनिवार ।