काठमाडौं। काठमाडौं महानगरपालिकाव्दारा संचालित मेट्रो एफएम ९४.६ मेगाहर्जले स्थापनाको १९ औं बार्षिक दिवस मनाएको छ। असोज १ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एफएमले स्थापना दिवस मनाएको हो।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीको प्रमुख आतिथ्यतामा संपन्न १९ औं बार्षिक दिवसमा १ सयजना कलाकारहरुको अभूतपूर्व अर्केष्ट्रा प्रस्तुति अत्यन्त आकर्षक विषय बनेको थियो। बाद्यगुरु न्हूच्छे बहादुर डंगोलले पाँच दिनको अभ्यास तथा प्रयासवाट १ सयजना कलाकारलाई परिचालित गरेर प्रस्तुत गरिएको अर्केष्ट्रा प्रस्तुति अनुपम नै बनेको थियो। जसमा परम्परागत मौलिक अठार बाजाहरुको प्रयोग भएको थियो।

करिब ३५ मिनेटको प्रस्तुतिमा दशैंको मालश्री धुनदेखि गुःला पर्व झल्काउने धुन लगायत बाजा र बाँसुरीको जवाल–सवाल बडा रोचक रहेको थियो। यस अर्केष्ट्रा प्रस्तुति हेरेर पछि अत्यन्त उत्साहित बनेकी उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले आफूले पनि किशोरी अवस्थामा बाँसुरी र तबला सिकेको खुलासा गरेकी छन्।

आफूले सिकेको त्यो बेला आजजस्तो महिलाहरुलाई खुल्ला रुपमा प्रस्तुत गर्न नपाउंदा आफूभित्रको त्यो प्रतिभा आफैमा विलाउनु परेको पीडा आफूमा रहेको उपमेयर खड्गीले तिक्तता व्यक्त गरे। आजको जमाना त्यस्तो नभएको महिलाहरु पनि स्टेजमा खुलेर प्रस्तुत भएर प्रतिभा देखाएको हेर्न पाउंदा मन अत्यन्त प्रफुल्लित बनेको पनि उपमेयर खड्गीले भनेकी छन्।

परम्परागत बाजागाजाको उचित संरक्षण र प्रवद्र्धन गर्न काठमाडौं महानगरपालिका कटिबद्ध भएर लाग्ने समेत उपमेयर खड्गीले बताएकी छन्। समृद्धिको आधार सूचना र सञ्चार नारा सहित अग्रसर मेट्रो एफएमको विविध पक्षको विषयमा एफएमका प्रसारण प्रमुख धर्मराज मुनिकारले प्रकाश पारेका थिए।

कार्यक्रम काठमाडौं महानगरपालिका सूचना प्रविधि विभागका प्रमुख नरेन्द्र विलास बज्राचार्यको सभापतित्वमा भएको थियो। कार्यक्रममा शुभेच्छा मन्तव्य काठमाडौं महानगरपालिका प्रशासन विभाग प्रमुख तथा प्रवक्ता ज्ञानेन्द्र कार्की लगायतले व्यक्त गरेका थिए। कार्यक्रमको संचालन मिस नेवाः सुनिता डंगोलले गरेकी थिइन्।

प्रकाशन मिति–२०७५ साल असोज २ गते मंगलवार ।