काठमाडौं। नेपालभाषा चलचित्रकी नंबरी नायिका आराध्यलक्ष्मी खड्गी र सुपरस्टार नायक रुपेन्द्र श्रेष्ठवीच बडा दशैंको नवौं दिन महानवमीका दिन म्युजिक भिडियोमा विवाह भएको पर्दाफास भएपछि तहल्का नै भएको छ। अविवाहित नंवरी नायिका आराध्यलक्ष्मी र विवाहित सुपरस्टार नायक रुपेन्द्रवीच म्युजिक भिडियोमा भएको विवाहलाई धेरैले यथार्थ नै मानिएपछि तहल्का भएको हो।

यो रियल लाइफमा नभइकन रिल लाइफमा मात्र भएको विवाहले दुवै नायक तथा नायिकाले अचम्मै पाराले व्यापक चर्चा पाएपछि दुवै दंगदास बनेका छन्। दुवैवीच गायक रविन्सन कंसाकार र गायिका सुमन मानन्धरको सुमधुर गायन रहेको म्युजिक भिडियो जमाना मभिं स्व बोलको गीतको भिडियोमा प्रेममय विवाह भएको हो।

नंबरी नायिका आराध्यलक्ष्मी खड्गीकै निर्देशन रहेको ज़माना मभिं स्व बोलको उक्त गीतको भिडियोमा दुवैले विवाह गरेपछि सोही गीतको भिडियो रिलिज कार्यक्रममा नजिकका इष्टमित्रहरुलाई विवाह भोज सवैलाई खुवाउन नसकेपनि अव भने पास्नीमा खुवाउने र पास्नीमा सवैलाई चुल्है निम्तो सुपरस्टार नायक रुपेन्द्र श्रेष्ठले दिएका छन्।

नायक रुपेन्द्रले पास्नीको सवैलाई निम्तो दिइरहंदा नायिका आराध्यलक्ष्मीको हांसोको फोहरा नै गुञ्जिएको थियो। म्युजिक भिडियोमा विवाह गरेका नायक–नायिकाको अर्को म्युजिक भिडियोमा बालबच्चा हुने या नहुने केही थाहा नभएतापनि पास्नीको निम्तो भने गजबकै बनेको छ।

मल्टीट्यालेन्टेट सञ्चारकर्मी सुरजबीर बज्राचार्यको शव्द तथा संगीतकार जुगल डंगोलको कम्पोज र एरेञ्ज रहेको जमाना मभिं स्व बोलको गीतको भिडियोमा नायिका आराध्यलक्ष्मी खड्गी तथा नायक रुपेन्द्र श्रेष्ठको रौनकपूर्ण विशेष अभिनय रहेको छ। साथमा चिरीबाबु महर्जन, रमेश पौडेल, राजकुमारी श्रेष्ठ लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ।

पूजा शाही तथा निरु महर्जनको श्रृंगार, राजेश मानन्धरको फोटोग्राफी तथा ड्रोन शनि शाक्यले चलाएका छन्। छायाँकन, सम्पादन बरिष्ठ छायाँकार सोहन मानन्धरले गरेका हुन्। कन्सेप्ट, कोरियोग्राफी, निर्देशन नायिका आराध्यलक्ष्मी खड्गीकै रहेको छ। म्युजिक भिडियो एकदम आकर्षक ढंगवाट फिल्मी स्टाइलमा निर्माण गरिएको छ। म्युजिक भिडियोको सार्वजनिकरण नेपालभाषा चलचित्रका प्रथम पत्रकार तथा प्रथम नेपालभाषा म्युजिक भिडियो निर्देशक विजयरत्न तुलाधरवाट भएको थियो।

प्रकाशन मिति–२०७७ साल कात्तिक १५ गते शनिवार ।