काठमाडौं। कोरोनाको महामारीमा विगतमा जस्तो मिस नेपालको आयोजना तामझाम भएन । सिमित मानिसको उपस्थितिमा अत्यन्त सावधानीपूर्वक शनिवार काठमाडौंको बूढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा मिस नेपाल २०२० संपन्न भएको छ।

यो बर्षको मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छन्। २५ औं संस्करणको मिस नेपाल अर्थात यो बर्षकी ‘मिस नेपाल वर्ल्ड २०२०’ नम्रता श्रेष्ठले वनेकी छन्। यो बर्षको ‘मिस नेपाल वर्ल्ड’मा २० जना प्रतिस्पर्धी सहभागी थिए। देशभरबाट आएका २ सय भन्दा बढी आवेदनबाट छानिएका २० जना प्रतिस्पर्धीहरुविच कडा प्रतिस्पर्धा भएको थियो।

कार्यक्रमको प्रमुख निर्णायक मिखा माथेमाले सोधेको–‘कल्पना गर्नुहोस् तपाई एउटा सानो ढुंगा हो । जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ । तपाई नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग कसरी फैलाउन चाहनुहुन्छ ?’ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिँदै काठमाडौंकी २२ बर्षिया नम्रता श्रेष्ठले ताज जितेकी हुन् ।

नम्रताले यो प्रश्नको जवाफमा आफ्नी आमालाई सम्झिएकी थिइन् । नेपाली महिला सशक्त हुने उल्लेख गर्दै उनले नेपाली महिलाहरु सकारात्मक सोचले अगाडि बढ्ने गरेको र यसैको आधारमा संसारलाई जित्न सकिने बताएकी थिइन् ।नम्रता श्रेष्ठलाई मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले ताज पहिर्याई दिएकी थिइन्। मिस नेपाल श्रेष्ठले नगद २ लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडी समेत पाएको छ। मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुने भएकी छन्।

प्रतियोगितामा मिस नेपाल अर्थ काठमाडौँकी २४ वर्षीया सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा र मिस सुपरनेशनल काठमाडौँकी २४ वर्षीया सिमल कनौजियाले पाएको छ। उनीहरु तीनै जनाले नगद २ लाख ५० हजार पाएको छ।

यस्तै प्रतियोगितामा मिस टुरिज्मको उपाधि रिया श्रेष्ठ, मिस फिटनेस सुभाङ्गी खत्री, मिस फोटोजेनेटिक आस्टिका श्रेष्ठ, मिस हेल्दी निहा सरकार लगायत ११ प्रकारका उपाधि समेत दिइएको थियो । ती पुरस्कारको राशि २५ हजार रहेको छ।

प्रकाशन मिति–२०७७ साल मंसीर २० गते शनिवार ।