काठमाडौं। विसं.२०७५ सालको हरितारा चलचित्र पुरस्कार बरिष्ठ अभिनेता कृष्ण मल्ल र बरिष्ठ नाट्य अभिनेता मदनदास श्रेष्ठलाई प्रदान गरिने भएको छ। हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा मंसिर १७ गते बसेको बैठकले उक्त पुरस्कार मल्ल र श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको हो।

सोही बैठकले विसं.२०७६ सालको हरितारा चलचित्र पुरस्कार बरिष्ठ गीतकार सहदेव ढुंगानालाई अर्पण गर्ने पनि निर्णय भएको परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाव्दारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ। विसं. २०५२ सालमा समाजसेवी विजया राणा (तारा नानी)ले आफु र आफ्ना पति हरि शमशेरको नाममा अक्षय कोष स्थापना गरेर स्थापित गरिएको हरितारा चलचित्र पुरस्कार नेपाली चलचित्र क्षेत्र कै पहिलो पुरस्कार हो। पुरस्कारको थैली जनही २५–२५ हजार रहेको छ ।

यसैगरी मंसिर १८ गते बसेको परिवर्तन नेपालको बैठकले विसं. २०७६ सालको दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार सञ्चारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई अर्पण गर्ने निर्णय गरेको छ। दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कारको थैली जनही दश–दश हजार रहेको छ ।

परिवर्तन नेपालको सोही बैठकले परिवर्तन सम्मान २०७६ बाट नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव मोहन पन्त, निर्देशक–अभिनेता विश्वदीप घिमिरे र निर्देशक–अभिनेता, सञ्चारकर्मी माधवराज खरेललाई सम्मानित गर्ने पनि निर्णय गरेको छ। पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, डिजाइनर सुन्दर श्रेष्ठ र सञ्चारकर्मी–गीतकार शान्तिप्रिय रहेको समितिले गरेको हो।

यसअघि हरितारा चलचित्र पुरस्कार महजोडी, शिव श्रेष्ठ, विश्व बस्नेत, रविन्द्र खड्का, रमेश बुढाथोकी, भुवन थापा, करिष्मा मानन्धर, शर्मिला मल्ल, रेखा थापा आदिलाई प्रदान गरिसकिएको छ। स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर पुषको दोस्रो सातामा दुबै पुरस्कार तथा सम्मान अर्पण गरिने कार्यक्रम रहेको जनाइएको छ।
प्रकाशन मिति–२०७७ साल मंसीर १९ गते शुक्रवार ।