काठमाडौ। यो हप्ता एकाएक अनौठो कुराको अफवाह फैलियो। विशेषत नुवाकोटतिरवाट आएको र नुवाकोटमा धेरैको मोबाइल फोनमा रातो नंबरका फोन आएको भनियो। त्यस्ता फोन रिसिभ गर्नेहरुको ज्यान गएको र ज्यान जान सक्ने खतराको कुराले सामाजिक सञ्जाल निक्कै नै रंगियो।

धेरैजना मोबाइल फोन उठाउन पनि डराउन थालेको थियो। यसले गर्दा यस बारेमा अनुसन्धान गर्न प्रहरीको पनि टाउको दुःखाइको विषय बन्यो। आम जनतालाई सुरक्षा दिन आवश्यक भएको र यसको अपफाव फैलाउनेलाई कानूनको कठघरासम्म पु¥याउने उदेश्यले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबी अनुसन्धानमा अहोरात्र लाग्यो।

गायक दीपक बराइली र गायिका प्रशन्न पाण्डे
गायक दीपक बराइली र गायिका प्रशन्न पाण्डे

त्यसको परिणाम स्वरुप त्यसरी रातो नंबरको आतंक फैलाउने दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ। त्यसरी रातो नंबरको आतंक फैलाउने अरु कोही नभइकन गायक दीपक बराइली र गायिका प्रशन्न पाण्डे भएको पुष्टि भएपछि उनीहरुलाई बुधवार पक्राउ गरेर सार्वजनिक गर्ने कार्य प्रहरीले गरेको छ।

मोरङ घर भएका बराइली र झापा घर भएकी पाण्डे पप गायक–गायिका भएको पनि प्रहरीले जनाएको छ । गायिका पाण्डेले आफूलाई रातो नम्बरबाट फोन आएको भन्दै फेसबुकमा स्टाटस लेखेको र सोही आधारमा अनुसन्धान अघि बढाउँदा रहस्य खुलेको प्रहरीले जनाएको छ। गायक बराइलीले फोन गर्दा रातो नम्बर जाने मोबाइल एप्सवाट बनाएको पाइएको पनि प्रहरीले जनाएको छ । सोहीको आधारमा फोन गर्दा रातो नंबर जाने सिस्टम बनेको खुलासा भएको छ।

सीआइबीले यस्तो भ्रममा नपर्न सबैमा अनुरोधसमेत गरेको छ । अभियुक्त दुबैले गल्ती स्वीकारेको पनि प्रहरीले जनाएको छ । आफूहरुवाट गल्ती भएको र रमाइलोको लागि गरिएको ठट्टा आतंकमा परिणत हुन पुगेकोमा उनीहरुले माफी मागेका छन्। प्रहरीले उनीहरुलाई एक पटकको लागि माफी दिएर रिहा पनि गरिसकेको छ। रातो नंबरको आतंकमा नपर्न र नपराउन प्रहरीले सवैलाई अनुरोध समेत गरेको छ।
प्रकाशन मिति–२०७३ साल पुस २५ गते सोमवार ।