ललितपुर । ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखमा ट्राफिक व्यवस्थापनमा सक्षम र सफल मानिएका पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथू नियुक्त भएका छन्। हाछेथूलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित महानगरले आइतबार नियुक्त गरेको हो।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार, ललितपुर महानगरपालिकाका नगर प्रहरीको क्षमतालाई अझै चुस्त बनाउन सीताराम हाछेथूलाई नियुक्त गरिएको हो।हाछेथूको कार्यक्षमता, शैलीबाट जनता अत्यन्त प्रभावित भएकोले सोही अनुसारको कार्य गर्ने विश्वासमा नियुक्त गरेको मेयर महर्जनको भनाई छ।

पूर्वट्राफिक प्रहरीको अनुभवले ललितपुर महानगरका नगर प्रहरी अझै दक्ष हुने बताउँदै नमूना नगर प्रहरी बनाउन हाछेथूको भूमिका महत्वपूर्ण हुने मेयर महर्जनले बताए। खासगरी नगर प्रहरीमा सुरक्षा क्षेत्रमा लामो समय अनुभव भएका व्यक्तिहरूलाई नियुक्ति गर्ने चलन छ।

ललितपुर महानगरभित्रको ट्राफिक व्यवस्थापन गर्दै महानगरले तयार पारेको महानगरस्तरीय ट्राफिक व्यवस्थापन सम्बन्धित योजना कार्यान्वयन गर्न विज्ञका रुपमा सीतारामले भूमिका खेल्ने जानकारी पनि मेयर महर्जनले दिए।
नव नियुक्त नगर प्रहरी प्रमुख हाछेथूले ललितपुर महानगरको नीति र निर्देशनअनुसार ललितपुर महानगरलाई व्यवस्थित सहर बनाउन काम गर्ने बताए।

हाछेथूले भने, ‘ललितपुरका मेयर चिरिबाबु महर्जनले विश्वास गरेर यो जिम्मेवारी दिनुभएको छ, जिम्मेवारी पूरा गर्छु।’ उनले ललितपुर महानगरलाई नमूना नगर बनाउने प्रतिबद्धता व्यक्त गरे। ट्राफिक व्यवस्थापन, सरसफाइ र फुटपाथ व्यवस्थापनलाई प्राथमिकता राखेर काम गर्ने हाछेथूले बताए।

हाछेथू विसं. २०७५ साल मंसिर महिनामा नेपाल प्रहरीबाट सेवानिवृत्त भएका थिए। प्रहरीमा रहँदा ट्राफिक व्यवस्थापनको कार्य कौशलको मूल्यांकनस्वरुप हाछेथूले राष्ट्रप्रमुख, सरकारप्रमुख, नेपालका विभिन्न मन्त्रालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ(संस्थाबाट गरी एक सय २९ वटा पुरस्कार पाएका थिए।
उनले कालिमाटी, कोटेश्वर, गौशाला, भक्तपुर, ललितपुरमा ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी निभाएका थिए।

२९ वर्ष ट्राफिक व्यवस्थापनमा बिताएका सीताराम हाछेथूलाई स्थानीय जनतासँग मिलेर काम सक्ने क्षमता भएका व्यक्तिको रुपमा लिइन्छ। ट्राफिक प्रहरीका विभिन्न प्रभाग, वृत्त र परिसरमा २८ वर्ष इन्चार्ज भएर काम गरेको अनुभव सीताराम हाछेथूसँग छ।


प्रकाशन मिति–२०७७ साल भाद्र १४ गते आइतवार ।