–इनास युकेका अध्यक्ष चिपालु
–पीडामा परेकालाई सामाजिक सहयोग
–बेलायतका नेपाली लाखे
–श्याम स्मृत
काठमाडौं। देश छाडेर परदेश पुगेपछि बल्ल देश संझेर प्राय सवै रुने गर्दछन्। आफ्नाहरुलाई छाडेर परदेशिनुको पीडा अनि परदेशिनुको बाँध्यताले बनाएको परिबन्दले परदेशमा धुँरुधुँरु रुनु सिवाय बिकल्प पनि त हुन्न । अर्कोतर्फ विरानो परदेशवाट स्वदेशको त्यही माया सम्झनु र गाउंठाउंको त्यही ढिक्की याद आउनु पनि त स्वभाविक हो।

त्यो स्वभाविक यथार्थतामा स्वभाविक अभिनयका माहिर अभिनेता विनोद चिपालु अभिनित गीतको भिडियोमा देखिएको छ। उनै स्वभाविक अभिनयका माहिर अभिनेता विनोद चिपालु अभिनित ढिक्की याद आयो बोलको गीतको भिडियो केही समयअघि मात्र बेलायतवाट रिलिज भएको छ। इनास युकेको प्रस्तुति तथा अभिनेता विनोद चिपालुकै कन्सेप्टमा निर्मित भिडियो ढिक्की याद आयोमा विनोद चिपालुका साथमा अभिनेत्री पवित्रा आचार्यको बुलन्द अभिनय रहेको छ।

त्यस्तैगरेर, पछिल्लो पुस्ताका चर्चित अभिनेता किशोर चिपालु, सुशान्त चिपालु, अजय महर्जन, माधवलाल श्रेष्ठ, सनुजा श्रेष्ठ र सेजल गौतमको अभिनय रहेको छ। नेपाली चलचित्र उद्योगका प्रतिष्ठित निर्देशक देवकुमार श्रेष्ठको निर्देशनमा गीतको भिडियो तयार भएको हो । नेपाल, बेलायत, अष्ट्रेलिया र फ्रान्समा यस गीतको भिडियो छायाँकन भएको जानकारी अभिनेता विनोद चिपालुले बताएका छन् ।

भिडियोको सम्पादन, कलरिङ तथा इफेक्ट आशिष श्रेष्ठले गरेका छन्। छायाँकन गुणदेव घिमिरे र अम्बर चित्रकारले गरेका छन्। मेकअप पूजा शाहीको रहेको छ। ढिक्की याद आयो गीतमा ख्यातिप्राप्त गायक आनन्द कार्कीको गायन र सुरेन्द्र रानाको शव्द रचना रहेको छ। सविना चिपालु निर्माता रहेकी छन्।

बहुमुखी प्रतिभाका धनी अभिनेता चिपालु अन्तरराष्ट्रिय कलाकार संघ (इनास) युकेका अध्यक्ष पनि हुन । इनास युकेका अध्यक्षको हैसियतवाट स्वदेश तथा विदेशमा रहेका नेपाली कलाकारहरुको हक, हित र अधिकारको लागि क्रियाशील चिपालुकै अगुवाइमा रोगको कारण विपतमा रहेका कलाकार जुँगे भट्टराई देखि रंग पत्रकार रमेश ग्रहणसम्मलाई बेलायतवाट सहयोग गर्ने कार्य भएको छ।

त्यस्तैगरेर, कोभिड–१९ को महामारीको कारण विपतमा परेका नेपालीहरुलाई विभिन्न आर्थिक तथा स्वास्थ्य सामाग्री सहयोग गर्ने कार्यमा पनि त्यतिकै सक्रियता र योगदान रहेको छ। स्वदेशमा तथा विदेशमा रहेका कुनैपनि नेपाली तथा नेपाली कलाकारहरुको पीडामा मल्हम लाउनमा अगुवाइ गर्दैआएका अभिनेता चिपालु बेलायतका चर्चित नेपाली लाखे पनि हुन।

प्रत्येक बर्षको इन्द्रजात्राको प्रमुख आकर्षण मानिने लाखेजात्रालाई बेलायतमा लोकप्रिय वनाउने कार्य विनोद चिपालुवाटै भएको हो। जसको कारण चिपालुलाई बेलायतको नेपाली लाखे भनेर पनि चिनिने गरेको छ। इन्द्रजात्राको अवसरमा प्रत्येक बर्ष बेलायतमा नेपाली तथा विदेशीमाझ लाखेजात्रा देखाउदै आएका चिपालुले कोभिड–१९ को महामारीको कारण यो दुई बर्षभने बेलायतमा लाखेजात्रा देखाएका छैनन्। आगामी बर्षहरुमा कोभिड–१९ को महामारी साम्य भएमा लाखेजात्रा निश्चित रुपमा देखाउने प्रतिबद्धता पनि चिपालुले व्यक्त गरेका छन्।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल साउन २५ गते सोमवार ।