Jharana Bajracharya-pregnentकाठमाडौ। पूर्वमिस वल्र्ड नेपाल झरना बज्राचार्य पनि आमा बन्ने भएकी छन्। विवाहको बर्षगांठ पूरा नहुंदै चर्चित मोडल तथा अभिनेत्री समेत रहेकी पूर्वमिस वल्र्ड नेपाल बज्राचार्यले पेट बोकेको तस्वीर सामाजिक संजाल मार्फत सार्वजनिक गरेर चाँडै आमा बन्न गैरहेको खुशीयाली बांडेकी छन्।

गत २०७१ साल चैत्र १ गते भारतीय मूलकी मलेसियन व्यापारी राहुल अग्रवालसंग अन्तरदेशिय प्रेम विवाह गरेकी पूर्वमिस वल्र्ड नेपाल बज्राचार्यले आफू कति महिनाको गर्भवती भनेर खुलाएकी छैनन्। सार्वजनिक भएको पेट बोकेको फोटोवाट पूर्वमिस नेपाल माल्विका सुव्वा जस्तै पाँच महिनाको गर्भवती हुनुपर्ने अनुमान गरिएको छ।यसहिसावले बज्राचार्यले विवाह गरेकै महिना सन्तानलाभ हुने करिब पक्का–पक्की जस्तो देखिएको समाचारस्रोतको दावी रहेको छ।

jharana-bihe

सन् १९९७ सालमा हिडन ट्रेजर प्रा.लि.बाट आयोजना गरिएको प्रथम मिस वल्र्ड नेपालमा भाग लिएर मिस वल्र्ड नेपाल बनेर मिस वल्र्डमा भाग लिने पहिलो सुन्दरीको रुपमा उनलाई नै लिइन्छ। त्यसपछिका बर्षमा मात्र मिस नेपालको आयोजक काठमाडौ जेसिजले हिडन ट्रेजरलाई मिस नेपाल आयोजना गर्ने सहमति तथा पूर्णस्वीकृति दिएपछि सन् १९९८ सालदेखि मिस नेपालको आयोजना गर्ने कार्य हिडन ट्रेजरले गरेपछि विजयी मिस नेपालले मिस वल्र्डमा भाग लिन थालेको हो।

प्रथम मिस वल्र्ड नेपाल बनेर मिस वल्र्डमा भाग लिने पहिलो सुन्दरी भएकोले पनि बज्राचार्यको बेग्लै पहिचान र शान बढेको मानिन्छ। त्यसपछिका दिनमा नेपाली चलचित्रमा लागेर दर्जनौ चलचित्रमा अभिनय गरेर एकसमय निक्कै नै व्यस्त बनेकी उनले दर्जनौ–दर्जन गीतका भिडियो तथा विज्ञापनहरुमा मोडलिङ्ग समेत गरेकी छन्।
प्रकाशन मिति–२०७२ साल माघ ४ गते सोमवार ।