काठमाडौ। विश्वको शक्तिशाली राष्ट्रमध्येको एक चीनमा ६४ बर्षिय सी चिनफिङ माओपछिको अत्यन्त शक्तिशाली नेता बन्न सफलता प्राप्त गरेका छन्। चीनका राष्ट्रपतिसमेत रहेका सी जिनपिङ चीनको कम्युनिस्ट पार्टीको महासचिवमा पुनः निर्वाचित भएयता उनी अत्यन्त शक्तिशाली बनेका हुन्।

Cizin

चीनको दुर्गम लियांगजिआहे गाउँमा कुनै समय खेतीपाती गर्ने चिनियाँँ ठिटो सी १८ वर्षमा कम्युनिष्ट युथ लिगमा सामेल भएपछि राजनीतिक जीवन सुरु भएको थियो । उनी २१ वर्षको उमेरमा कम्युनिष्ट पार्टीको सदस्य बनेका थिए । पिता कम्युनिष्ट क्रान्तिका नायक रहेकाले पनि उनमा राजनीतिको गहिरो छाप थियो।

समयक्रमसँगै पार्टीका विभिन्न तह र भूमिकामा रहेर आफ्नो कुशल क्षमता देखाउन सकेका सी सन् २०१२ मा राष्ट्रपति बनेपछि भने उनका विचार, दृष्टिकोण, कार्यशैली र व्यवहार मुलुकबाहिर पनि चासोको विषय बन्न थालेको थियो। उनको पदावधि सुरुभएसँगै चीनले लिएको विकासको गति र भ्रष्टाचारविरोधी अभियानले बाह्यजगतलाई आश्चर्यचकित पारिरहेको थियो भने आन्तरिकरुपमा उनी शक्तिशाली बन्दै गएका थिए।

राष्ट्रपति सी दोस्रो कार्यकालका लागि पनि चुनिने सामान्य अनुमान सबैतिर थियो। तर, महाधिवेशन सकिने बेलासम्म पुग्दा उनी अनुमानभन्दा धेरै माथि पुगे, शक्ति र संगठनसँगै वैचारिक धाराको दृष्टिले पनि। १९औं महाधिवेशनबाट सी चिनफिङ विचारधारा भनिएको सीको ‘युग सुहाउँदो चिनियाँ विशेषतामा आधारित समाजवाद’को राजनीतिक दर्शनलाई चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा समावेश गरिएपछि उनलाई चीनलाई एकीकृत गराउने एकमात्र चिनियाँ सर्वोच्च नायक माओपछिकै शक्तिशाली नेताको तहमा राखेर हेर्न थालिएको छ।

सीको सिद्धान्तमा मुलुकलाई हरेक पक्षबाट शासित गर्न कम्युनिष्ट पार्टीको भूमिकामा जोड दिइएको छ भने सम्पूर्ण एवं गहिरो सुधार र नयाँ विकासशील विचारलाई बढावा दिइएको छ। मानिस एवं प्रकृतिबीच सामञ्जस्यपूर्ण जीवनको वाचा गरिएको छ । जनमुक्ति सेनामाथि पार्टीको पूर्णअधिकारमा जोड दिइएको छ। अब चिनियाँ कम्युनिष्ट पार्टीका ९ करोड सदस्यसहित शिक्षण संस्था र कर्मचारीलगायत ‘नयाँ युगको चिनियाँ विशेषतासहितको सी चिनपिङ विचारधारा’मा अभ्यस्त बन्दै जानेभएका छन्।

सीले भन्ने गरेको नयाँ युगले आधुनिक चीनको तेस्रो चरणलाई संकेत गरेको ठानिएको छ । पहिलो चरणमा संस्थापक अध्यक्ष माओत्सुङले गृहयुद्धले ध्वस्त बनाएको चीनलाई सन् १९४९ मा एकढिक्का बनाए । दोस्रो चरणमा सन् १९८० मा देड सिआओपिङले खुला नीति लिएर चीनलाई समृद्ध बनाए। र, अहिले आएर सीको तेस्रो चरणले चीनलाई एकताबद्ध र समृद्ध बनाउनुका साथै मुलुकबाहिर सशक्तरुपमा उभ्याउने भएको छ।
(एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल कात्तिक ८ गते बुधवार ।