काठमाडौं। विश्व बजारमा सुनको मूल्य पछिल्लो एक महिनादेखि नै ओरालो लागेको छ। यसो हुनुको प्रमुख कारण अमेरिकी राष्ट्रपति निर्वाचनको नयाँ नतिजा र कोभिड–१९ भाइरसको खोपको प्रभावकारीताबारे आएका सुखद समाचारहरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको विश्लेषण छ।

सुनमा हुने लगानी आपूर्ति, माग र लगानीकर्ताको स्वभावमा निर्भर हुने गर्दछ। यसमध्ये कुनै एकमा आउने परिवर्तनले सुनको मूल्यमा प्रभाव पर्ने इन्भेष्टोपेडियाले उल्लेख गरेको छ। यो साता नेपाली बजारमा सुनको भाउ ओरालोमा नै पुगेको छ। साताको पहिलो दिन ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ साताको अन्त्यमा तीन हजार रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा कायम भएको हो।

साता अवधिमा चाँदीको मूल्यमा पनि प्रतितोला ४५ रुपैयाँको गिरावट देखियो। घट्दो मूल्य र विवाहको सिजन लगायतका कारणले सात महिनासम्म बन्द सुन बजारमा खरिद बिक्रीको चहल पहल बढेको छ। सामान्य अवस्थाको तुलनामा करिब ३५ प्रतिशतसम्म मात्रै व्यवसाय चलिरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्यमा गिरावट आएको वर्तमान अवस्थामा अमेरिकी राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएपछि अमेरिकी शेयर बजारमा भने, नयाँ कीर्तिमान कायम भएको छ। यस्तै अन्तर्राष्ट्रिय शेयर बजार र कच्चा तेलमा गरिने लगानीबाट बाहिरिएका लगानीकर्ताहरु पुनः तेलमा आकर्षित हुँदा कच्चा तेलको मूल्य पनि बढ्न सुरु भएको छ।

यी सूचकहरुको अर्थ हो, लगानीकर्ताहरु नयाँ चुनावी नतिजापछि सुन छोडेर लगानीका अन्य क्षेत्रहरु जान उत्साहित छन् । अर्कोतर्फ कोभिडका कारण विश्व अर्थतन्त्रमा आउन सक्ने संकुचनको डरले सुनमा लगानी गरेका लगानीकर्ताको स्वभाव कोरोनाविरुद्धको खोपको विकसित रुपको नयाँ चर्चाले दंग छ ।

नयाँ विकसित घटनाक्रमले सुनको माग, आपूर्ति र लगानीकर्ताको स्वभावको चेन प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको विश्लेषण छ । सुनको अन्तर्राष्ट्रिय मूल्य सूचक जारी गर्ने गोल्ड प्राइस डटकमका अनुसार पछिल्लो एक महिनामा सुनको भाउ ५६.९० डलरले ओरोलो लागेको छ । शुक्रबारसम्म २.८५ डलरले सुनको भाउ घटिसकेको छ ।

सुनको भाउमा पछिल्लो एक साताको अवधिमा आएकोे गिरावटका कारण उपभोक्ताहरु अझै सुनको मूल्य ओरालो लाग्ने विश्लेषणमा छन् । बिहेका लागि सुन नभई नहुने भएकाले पनि मानिसहरु पर्ख र हेरको अवस्थामा रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउमा यस वर्ष कायम भएको हालसम्मकै उच्च मूल्यको रेकर्ड लामो समय टिक्न नसकेका कारण मूल्यको उतार चढाव निरन्तर नै रहने महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यको भनाइ छ।

अन्तर्राष्ट्रिय बजारमा केही दिनदेखि एक हजार आठ सयदेखि एक हजार आठ सय १० डलरको बीचमा रहेको सुनको मूल्य केही समय स्थिर रहने उनको आँकलन छ । सुनमा भएको लगानी उद्योग, शेयर बजार जस्ता क्षेत्रमा जान थालेको भन्दै उनले अमेरिकी नयाँ राष्ट्रपति बाइडनको पदभार ग्रहणपछि सुनको मूल्यको बाटो तय हुने महासंघका बरिष्ठ उपाध्यक्ष शाक्यको जिकिर रहेको छ।


प्रकाशन मिति–२०७७ साल मंसीर १३ गते शनिवार ।