काठमाडौं। हाल व्यापक चर्चा तथा विवादमा रहेको इण्डियन फिल्म एकेडेमी अर्थात आइफा अवार्ड कार्यक्रम रोकिने भएको छ। प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय संवन्ध समितिले नेपालमा गरिने भनिएको आइफा अवार्ड संवन्धी संपूर्ण कार्य तत्काल रोक्न मंगलवार निर्देशन दिएपछि रोकिने भएको हो।

सिंहदरबारमा बसेको समितिको बैठकले नेपालको सांस्कृतिक महत्व र राष्ट्रिय हितमा प्रतिकूल असर पार्ने उद्देश्यबाट उक्त कार्यक्रम प्रेरित भएको भन्दै कार्यक्रम रोक्न सरकारलाई निर्देशन दिएको हो। भारतीय निजी कम्पनी बिजक्राप्ट इन्टरनेसनल प्राइभेट लिमिटेडलाई नेपालमा आइफा पुरस्कार कार्यक्रम गर्न दिने सम्बन्धमा नेपाल सरकार र उक्त संस्थासँग गरिने भन्ने सम्झौताको मस्यौदा नेपालको स्वाधिनता, स्वतन्त्रता र अस्मितामा आँच पुर्‍याउने रहेको समितिले ठहर गरेको छ।

सम्झौताको मस्यौदामा नेपाल सरकारले व्यहोर्नपर्ने आर्थिक दायित्व अत्यन्तै अनुचित र अस्वाभाविक किसिमले ठूलो भएको र त्यसवाट नेपालको आर्थिक अवस्थाको दृष्टिकोणबाट उचित नदेखिएको समितिको निष्कर्ष रहेको छ। बैठकले सरकारसँग कार्यक्रमको समग्र र विस्तृत् जानकारी माग गर्ने निर्णय गरेको समितिका सचिव सुरजकुमार दुराको भनाई रहेको छ।
प्रकाशन मिति–२०७६ साल असार १७ गते मंगलवार ।