birendra-shakyaकाठमाडौ। नेपाली गीत–संगीतका ख्यातिप्राप्त एरेन्जर तथा संगीतकार बीरेन्द्र शाक्य एकाएक सिकिस्त विरामी परेका छन्। शुक्रबार विहान जाउलाखेल स्थित एक स्कुलको कार्यक्रमको सिलसिलामा पुगेका संगीतकार शाक्य त्यही एकाएक ढलेपछि शाक्यलाई नजिकैको अल्का अस्पतालमा उपचार्थ लगिएको थियो।

संगीतकार शाक्यका अनन्य मित्र तथा चलचित्र निर्देशक देवकुमार श्रेष्ठले भिजन संसारलाई दिएको जानकारी अनुसार बेहोशी अवस्थामा अल्का अस्पतालमा पुर्याइएपनि त्यहाँ उपचार संभव नभएपछि बाँसबारी स्थित न्युरो अस्पताल साँझतिर लगिएको छ। आइसियुमा राखिएका संगीतकार शाक्यको ब्रेन ह्यामब्रेज भएको आशंका गरिएको छ।

उच्च–रक्तचापको कारण त्यसो भएको हुनुपर्ने निर्देशक श्रेष्ठको भनाई रहेको छ। ललितपुर सुन्धारा निवासी शालिन र कुल टाइपको संगीतकार शाक्यले नेपाली चलचित्र गोधुली लगायत विभिन्न हजारौ गीतहरुमा एरेञ्ज तथा संगीत दिइसकेका छन्। दर्जनौ नेपालभाषाका चलचित्रका संगीतकार समेत रहेका शाक्य आफै पनि रेकर्डिष्ट हुन्। केही समय यता क्यामेरा चलाउने कार्य पनि शाक्यले गर्दैआएका थिए।
प्रकाशन मिति–२०७३ साल भदौ २४ गते शुक्रबार ।