काठमाडौं। शहरी विकास मन्त्रालयले भक्तपुरको सानोठिमी स्थित सानोठिमी क्याम्पस भवन पछाडिको जग्गामा अन्तर्राष्ट्रियस्तरको सभा भवन बनाउने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा रहेको १ सय ८९ रोपनी उक्त जग्गामा अन्तरराष्ट्रिय सभा भवन बन्न लागेको हो।

शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहका अनुसार, मन्त्रालयले ५८ रोपनी जग्गामा मात्र भवन बनाउन प्रस्ताव गरेकामा मन्त्रिपरिषद् बैठकले पूरै जग्गा ओगट्न निर्णय गरी सोमबार पत्राचार गरेको छ। अव यो चालु आर्थिक बर्षमा भवनको डिजाइन सकेर टेण्डर आव्हान हुने र आगामी आर्थिक बर्षवाट निर्माण शुरु हुने भएको छ।

५० करोड अनुमानि बजेटमा निर्माण हुने अन्तरराष्ट्रिय सभा भवनमा ५ हजार सिट क्षमता भएतापनि एक हजार सिटमा मात्र टेबलको व्यवस्था हुने भएको छ। यस्तै सातै प्रदेशका मुख्यमन्त्री र मन्त्रीको सम्पर्क कार्यालका लागि समेत भवन बनाउन अध्ययन शुरु गरिएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले बताएका छन्।

सांसद आवास भवन बनाउन छुट्याइएको भैँसेपाटीको जग्गामा सो कार्यालय स्थापना गर्न अध्ययन शुरु गरिएको हो। काठमाडौँ उपत्यका वरपरका नगरपालिकालाई स्याटेलाइट सिटी, स्मार्ट सिटी, मेगा सिटी एवं मेट्रो सिटीका रुपमा विकास गर्न लागिएको बताइएको छ।
प्रकाशन मिति–२०७५ साल कात्तिक ८ गते विहीवार ।