काठमाडौ। कलाकारहरुको उपचार कोष खडा गर्ने पवित्र उदेश्यले पहिलो पल्ट नेपालको फाइभ स्टार होटल याक एण्ड यतिमा लाइभ म्युजिकल इभेन्टको शनिवार आयोजना भएको छ।

सुखावती मल्टी प्रोडक्सनको आयोजनामा आयोजित उक्त लाइभ म्युजिकल इभेन्टमा नेपालभाषा संगीतकी मेलोडी क्वीन दीपा महर्जन विशेष नै रह्यो। मेलोडी क्वीन महर्जनले आफ्ना लोकप्रिय गीत प्रस्तुत गरेर सवैको वाहवाही पाएकी थिइन्। साथमा नेपालका ख्यातिप्राप्त कमेडी किङ मदनकृष्ण श्रेष्ठले पनि नेपालभाषा र नेपालीमा गरेर दुई गीत गाएका थिए।

पत्नी वियोगको महिना दिन पनि नवित्दै मदनकृष्ण सार्वजनिक समारोहमा उपस्थित भएर कलाकार उपचार कोष खडा गर्न गरिएको पवित्र इभेन्टमा सहभागी बन्नु ठूलो कुरा भएको छ। जसको प्रमुख अतिथिको रुपमा त्यस कार्यक्रममा पुगेका काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कमेडी किङ श्रेष्ठको मुक्तकण्ठले तारिफ गरेका थिए।

मेयर शाक्यले मदनकृष्ण श्रेष्ठ हामी सवैको प्रेरणाको स्रोत भएको समेत भन्न चुकेनन्। कार्यक्रममा सानुवावु महर्जन, सतिष महर्जन, नील शाक्य र राकेश बज्राचार्यको समेत गायन प्रस्तुतिले इभेन्टमा मोहकता बृद्धि गरेको जिकिर आयोजक सुखावतीका प्रमुख तथा लोकप्रिय कलाकार एवम् निर्देशक सुरेन्द्र तुलाधरको रहेको छ।

तुलाधरलाई त्यसदिन आयोजित कार्यक्रमवाट कलाकार उपचार कोष खडा गर्न विभिन्न महानुभावले सहयोग रकम हस्तान्तरण गरिएको थियो। सोही समारोहमा आयोजक सुखावती मल्टी प्रोडक्सनको तर्फवाट गायिका दीपा महर्जनको एकल गायनको बृहत एल्वम निकालिदिने घोषणा भएको छ।


प्रकाशन मिति–२०७५ साल बैशाख २४ गते सोमवार ।