काठमाडौं। केही दिनअघि भैरहवाको बेलहिया नाका हुंदैआएकी बलिउडमा ख्यातिप्राप्त नेपाली नायिका मनिषा कोइराला यतिखेर क्वारेन्टाइनमा रहेकी छन्। विदेशबाट नेपाल आएपछि १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियमअनुसार नायिका कोइराला काठमाडौंको एक होटलमा क्वारेन्टाइनमा बसिरहेकी हुन।

यही हप्ताको मंगलबार भैरहवाको बेलहिया नाका हुँदै स–परिवारसहित भारतवाट नेपाल आएकी नायिका कोइरालाले आफू र आफ्नो परिवारको कोरोना परिक्षण गराएकी थिइन्। परिक्षणमा नायिका कोइरालासहित परिवारको रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भएको पत्रकार जयन सुव्वा मानन्धरले उल्लेख गरेकी छन्।

लकडाउनका बीच भारतबाट नेपाल आएकी नायिका कोइराला घर नगकन हाल आफ्ना बुवाआमा, स–परिवारसित काठमाडौंको एक होटलमा क्वारेन्टाइनमा बसेकी छन्। क्वारेन्टाइन अवधिभर नायिका कोइरालाले आफन्तबाहेक अरूसँग भेट गरेकी छैनन्।

भारतले मिचेको लिपुलेक लिम्पुयाधुरा सहितको नेपालको नयाँ नक्सा सार्वजनिक भएपछि त्यसको समर्थन गरेपछि भारतीय मिडियाहरुको तिब्र निशानामा परेकी नायिका कोइरालाले त्यसको जवाफी हमलामा आफूले भारतमा श्रम मात्र बेचेकी तर, स्वाभिमान नबेचेको भनेकी थिइन्।

राष्ट्र र राष्ट्रियताका संवन्धमा स्वाभिमानी देखिएकी कोइराला परिवारको पछिल्लो धरोहरका रुपमा रहेकी नायिका मनिषा कोइराला संभवत चाँडै नेपालको राजनीतिमा आउने संकेत देखिएको छ।

नायिका कोइरालाले मुख खोलेर नभनेपनि कोइराला निकटवर्ती समाचार स्रोतका अनुसार मनिषा कोइरालाको अवको गन्तव्य भन्नु नै राजनीति हो। हजुरबुवा बीपी कोइराला जस्तै निष्ठावान तथा स्वाभिमानका साथ नेपाली राजनीतिमा आउने नायिका कोइरालाको तयारी रहेको समाचार स्रोतको भनाई छ।


प्रकाशन मिति–२०७७ साल जेठ २४ गते शनिवार ।