काठमाडौं। बलिउडकी मास्टरजी भनेपछि नामै काफी छ। उनै बलिउडकी मास्टरजी अर्थात नामुद ख्यातिप्राप्त डान्स डाइरेक्टर कोरियोग्राफर सरोज खानको निधन भएको छ।

मुटु रोग तथा मधुमेहबाट ग्रसित मास्टरजी ७१ वर्षीया सरोज खानको कार्डिएड अरेस्टबाट शुक्रवार विहान १ बजेर ५२ मिनेटमा मुम्बईमा निधन भएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार केही दिनयता श्वासप्रश्वासमा समस्या भएपछि मास्टरजी सरोज खानलाई अस्पताल भर्ना गरिएको थियो।

बलिउडमा ३ वर्षकै उमेरमा डान्सरबाट करियर सुरु गरेकी खानले सन् १९७४ बाट कोरियोग्राफी सुरु गरेकी थिइन्। आफ्नो ४ दशक लामो करियरमा सरोज खानले २ हजार भन्दा बढी बलिउड गीतमा कोरियोग्राफी गरेकी छन्।

बलिउडका स्टार अभिनेत्री माधुरी दीक्षित, ऐश्वर्या राय, श्रीदेवी र करीना कपूरको करियरलाई उचाईंमा पुर्‍याउन सरोज खानको कोरियोग्राफीको ठूलो योगदान छ। खानको कोरियोग्राफी रहेका थुप्रै गीतले अवार्ड जितेका छन्।

उनको कोरियोग्राफीमा करिनाको अभिनय रहेको ये इश्क हाये, माधुरी दीक्षित र ऐश्वर्या रायको अभिनय रहेको देवदासको डोला रे डोलाले नेशनल अवार्ड पाएको थियो। माधुरीको फिल्म तेजाबको लोकप्रिय गीत एक दो तीनमा पनि उनकै कोरियोग्राफी छ। माधुरीकै ‘धक धक कर्ने लगा’ भन्ने गीतमा पनि सरोजकै कोरियाग्राफी थियो।

यसका अलावा माधुरी र संजय दत्तको गीत तम्मा तम्मा, देवदासमा माधुरीको मार डाला, मिस्टर इण्डियामा श्रीदेवीको गीत हवा हवाई लगायत दर्जनौ दर्जन फिल्महरुमा उनकै कोरियोग्राफीकै कारण ती फिल्महरु सुपरहिट बनेका हुन।

हक्की र पक्की डान्स मास्टरजीका रुपमा रहेकी उनी बोल्ड कोरियोग्राफर नै हुन। जसले एक से एक डान्स कम्पिटिसनहरुमा गजबकै जजिङ गरेर विश्वलाई नै चकित वनाउने कार्य गरेकी थिइन्।


प्रकाशन मिति–२०७७ साल असार १९ गते शुक्रवार ।