हङकङ। हङकङमा विश्व नेवार दिवस मनाएको छ। हङकङ नेवार समाजको आयोजनामा शनिवार हङकङमा विश्व नेवार दिवस मनाएको हो।

हङकङमा रहेका नेवारहरुको एकता तथा उनीहरुवीचको भाइचाराको विकास गर्न यो कार्यक्रम यो बर्षवाट गरिएको आयोजक हङकङ नेवार समाजका अध्यक्ष रचना प्रधानले भिजन संसारलाई भनेकी छन्।

हङकङमा रहेका नेवार ज्येष्ठ नागरिक अर्थात थकाली ज्ञानमान डंगोलको प्रमुख आतिथ्यतामा भएको विश्व नेवार दिवसमा हङकङमा नै रहेकी १० बर्षिया सायस्था श्रेष्ठलाई जीवित देवी कुमारीको रुपमा पूजिएको छ। कुमारीको हातवाट सवैले टीका लगाएपछि समयबजी खाने व्यवस्था गरिएको थियो।

त्यसमाथि इन्द्रजात्राको झल्को दिने गरी लाखेजात्रा समेत गरिएको थियो। यसप्रकारको बृहत कार्यक्रममा हङकङमा रहेका अन्तरराष्ट्रिय नेपाली गायक नागेन्द्र श्रेष्ठ र नेपाली उस्ताद कृष्णभक्त महर्जनलाई नेपाली गीत–संगीतलाई विश्वमाझ चिनाउन अतुलनीय योगदान दिएवापत विशेष सम्मान प्रदान गरिएको छ।त्यसैगरेर, खेलकुद क्षेत्रमा क्रियाशील हङकङका नेपाली खेलाडी सुशील नेवा र सुनिल कुमार श्रेष्ठलाई सम्मान गरियो। मिस हङकङमा विभिन्न सब–टाइटल अवार्ड विजयी दुई सुन्दरी विद्या श्रेष्ठ र रोशनी श्रेष्ठलाई पनि सम्मान गरिएको थियो। साथै हङकङ नेवार समाजका संस्थापक सल्लाहकार पंचनारायण महर्जनलाई पनि उनको अमूल्य योगदानको कदर स्वरुप विशेष सम्मान प्रदान गरिएको थियो।


प्रकाशन मिति–२०७४ साल चैत्र १९ गते सोमवार ।