काठमाडौं। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरु देवादि–देव महादेवको पूजा आराधना गरी मनाउने कार्य भएको छ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने बरदान पाएकी थिइन्। तर, पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन्।

सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन्। यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ।

संस्कृत भाषाका हरित र आलिका दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ। हरितालिका तीजका सन्दर्भमा हरित शब्दको अर्थ हरण गरिएको र आलिका शब्दको अर्थ साथी भन्ने हुन्छ। सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरु व्रत बस्ने गरेका गर्छन्।

तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नु नै पर्छ भन्ने नरहेको धर्मशास्त्रविद् रामचन्द गौतमको भनाइ रहेको छ। निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिमको ब्रत रहेकोमा फलाहार व्रत उत्तम मानिएको छ। पानी नै नखाइकन निराहार ब्रत बस्नु स्वास्थ्यको दृष्टिकोणले कुनैपनि हालतमा ठीक नभएको प्रायको भनाई रहेको छ।

तीजको पावन अवसरमा देशभरका शिवालयहरुमा महिला दिदीबहिनीहरुको व्यापक घुइँचो रहेको छ। आराध्यदेव भगवान पशुपतिनाथमा अझ धेरै भीड पाइएको छ।
प्रकाशन मिति–२०७६ साल भदौ १६ गते सोमवार ।