काठमाडौं। ऊर्जावान नेपाली स्टारहरु सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन अभिनित नेपाली कथानक चलचित्र ‘मन्त्र’ सेन्सर पास भएको छ। यही बैशाख १६ गतेबाट प्रदर्शनमा आउने चलचित्रले यूनिभर्सल सर्टिफिकेट पाएको हो।

केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई सबै दर्शकले हेर्न मिल्ने गरि प्रदर्शन स्वीकृति दिएको निर्माण टीमले जनाएको छ। खिल बहादुर गुरुङको निर्देशन रहेको चलचित्रले हिमाली प्रेमकथा बोल्नेछ । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् ।

मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायाँकन गरिएको चलचित्रमा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामाको पनि शीर्ष भूमिका रहेको छ। परिक्षेद सेनको कथा रहेको चलचित्रमा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन एवं मित्र डि।गुरुङको सम्पादन छ। ‘मन्त्र’ मौलिक नेपाली चलचित्र बनेको बताउँदै दर्शकले रुचाउनेमा निर्माण टिम विश्वस्त देखिएको छ।

प्रकाशन मिति–२०७९ साल बैशाख ८ गते विहीवार ।