–श्याम स्मृत
धुलिखेल।३ नंबर प्रदेशको संभावित राजधानी काभ्रे जिल्लाको धुलिखेल पर्यटकीय दृष्टिकोणले प्राचिन नगरी हो। यस नगरीमा जाडो तथा गर्मी जुनसुकै मौसममा पनि स्वदेशी तथा विदेशी पर्यटकको घुइंचो हुने गर्दछ। विशेषत धुलिखेल आउने पर्यटकहरुको पहिलो गन्तव्य भनेको नै धुलिखेल बसपार्क हुंदै सञ्जीबनी बजार भएर उकालो लाग्ने थाउजेण्ड स्टेप नै हो।

हजार सिंढीको रमणिय स्थल थाउजेण्ड स्टेपमा जानका लागि टिकट काट्नुपर्ने व्यवस्था गरिएको छ। तर, त्यो टिकट काटेको अर्थ कही पनि चेक नहुने र त्यसको अनुगमन पनि नहुने भएकोले बेमतलब जस्तो देखिएको छ।

हरियालीसंगै प्रत्येक सिंढीसंगै साइनो गांस्दै उकालिनुको मज्जा बेग्लै हुने गर्दछ। यो मज्जाभित्र माथिल्लो स्टेपमा पुगेपछि कालिका मन्दिरको दर्शन गरेर सेल्फी स्टोनमा बसेर सेल्फी फोटो खिच्नेहरुको रौनकता बेग्लै हुने गरेको छ।

धुलिखेल आउनेहरु जो कोही पनि सेल्फी डाँडामा आएर सेल्फी स्टोनमा बसेर फोटो नखिचेसम्म धुलिखेल आउनुको मतलव नहुने भन्नेहरु धेरै पाइएको छ।

नगरकोट पछि रमणिय पर्यटकीय स्थल धुलिखेल विशेषत बैभबशाली नेवारहरुको त्यो प्राचिन घर तथा प्राचिनताको शैलीले धेरैलाई आकर्षित पार्ने गर्दछ। स्वच्छ तथा सफा धुलिखेलमा सफाईको गाडी विग्रेको बेला नगर प्रहरीको गाडीले नै नगरका फोहर–मैला संकलन गरेर उचित स्थानमा व्यवस्थापन गर्ने गरेको देखिएको छ।

अर्कोतर्फ दक्षिण एसियाकै उत्कृष्ट अस्पतालको रुपमा रहेको धुलिखेल अस्पतालको महत्व पनि बेग्लै रहेको छ। धुलिखेल वरपर काभ्रे जिल्लावाट मात्र नभइकन सुविधा संपन्न काठमाडौंवाट पनि धुलिखेल अस्पतालमा उपचार गर्न र गराउन आउनेहरुको लर्को लाग्नेहरुको कमी देखिदैन।

मुलुककै प्रतिष्ठित व्यक्ति–व्यक्तित्व बनाउने सञ्जीबनी माध्यमिक विद्यालय लगायत काठमाडौं विश्वविद्यालय पनि यही धुलिखेलमा रहेको कारण धुलिखेल ३ नंबर प्रदेशको लागि अति उपयुक्त राजधानी हो।

धुलिखेल ३ नंबर प्रदेशको राजधानी बनेमा निश्चित रुपमा अत्यन्त राम्रो हुने धुलिखेलवासीहरुको भनाई रहेको छ। स्वदेशी तथा विदेशीहरुका लागि अत्यन्त उपयुक्त एक से एक होटलहरु पनि यहाँ भएकोले धुलिखेल सवैको लागि आकर्षणको केन्द्र बन्दैगएको छ।

प्रकाशन मिति–२०७५ साल पुष १७ गते मंगलवार ।