काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको कारण  जारी लकडाउन अवस्थामा
विपन्न बर्गलाई राहत दिने कार्यमा निरन्तरता रहेको छ। यसमा स्थानीय निकाय मार्फत सरकारले उपलव्ध गराएको राहतले मात्र नपुग भएको कारण व्यक्ति–विशेष तथा व्यापारिक प्रतिष्ठानहरुले पनि हातेमालो गर्ने कार्य जारी रहेको छ।

यस कार्यमा स्थानीय निकायको अगुवाईमा एकव्दार प्रणालीवाट राहत दिने कार्य भैरहेको हो। यसक्रममा काठमाडौं महानगरपालिका वडा नंबर ४ स्थित विभिन्न टोल–ठाउँमा रहेका विपन्न बर्गहरुलाई आज शनिवार पनि राहत दिने कार्य भएको छ।

चण्डोलमा मनकारी व्यक्तित्व अनिष कुमार शर्माले उपलव्ध गराएको राहत काठमाडौं महानगरपालिकाका वडा सदस्य दिनेश महर्जनको रोहवरमा विपन्न वर्गलाई राहत वितरण कार्य भएको छ। त्यस्तैगरेर, बालुवाटार लमटङ्गीन मार्ग स्थित लक्ष्मण स्टोरवाट काठमाडौं महानगरपालिका वडा नंबर ४ का वडा अध्यक्ष मोहन वहादुर विष्टको रोहवरमा युरोपियन बेकरीका प्रोप्राइटर विमल भण्डारीव्दारा राहत वितरण कार्य भएको छ।

काठमाडौं महानगरपालिका वडा नंबर ४ ले व्यवस्थित रुपमा कुपन सिस्टमवाट सही विपन्न वर्गलाई राहत दिने कार्य भएको छ। अनुकरणीय ढंगवाट कुपन सिस्टमवाट सामाजिक दूरी कायम गरेर कुनै हुलमुल नहुने गरिकन राहत वितरण गर्ने कार्य भएको थियो। जुन कार्यको काठमाडौं महानगरपालिकाका अन्य वडाहरुले अनुकरण गर्न थालेको पाइएको छ।

त्यसैगरेर, काठमाडौं जिल्लामा नै रहेका अन्य नगरपालिकाले पनि यसलाई अनुकरण गरेर राहत वितरण गरेको कारण पनि काठमाडौं महानगरपालिका वडा नंबर ४ राहत वितरण कार्यमा रोलमोडल नै बनेको हो। धेरै सोचविचार गरेर बैज्ञानिक ढंगवाट आफूहरुले कुपन सिस्टम प्रणाली अपनाएको वडा अध्यक्ष मोहन वहादुर विष्टले भिजन संसार डटकमलाई बताएका छन्।

वडा अध्यक्ष विष्टका अनुसार, आज शनिवार मात्र यसरी नै गरेर सवै स्थानमा गरेर ३ सय ५६ जनालाई राहत वितरण गरिएको छ। हालसम्म काठमाडौं महानगरपालिका वडा नंबर ४ ले करिब २ हजारभन्दा बढीलाई राहत वितरण गरिसकेको छ।

प्रकाशन मिति–२०७६ साल चैत २९ गते शनिवार ।