काठमाडौं। बलिउडको फिल्मी इतिहासमा मशहुर् तथा स्वभाविक अभिनयका सफल अभिनेता इरफान खानको दुःखद निधन भएको छ। अभिनेता खानको बुधवार विहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो।

५४ वर्षीय खान दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। स्वास्थ्य बिग्रिएपछि मङ्गलवार उनलाई मुम्बईस्थित कोकिलाबेन अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो। उनी क्यान्सरबाट पीडित थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको भारतीय समाचार माध्यमहरुले उल्लेख गरेको छ।

अरफान खानले पानसिंह तोमर, मकबूल, सलाम बाम्बे, द लन्च बक्स, लाइफ अफ पाई, जुर्‍यासिक वर्ल्ड, स्लमडग मिलीअनेअरजस्ता बलिउडका एक से एक फिल्मको अलावा हलिउडको चर्चित चलचित्र मीडीअमुमा समेत अभिनय गरेका छन्। जसको अभिनयको ज्यादै तारिफ गर्ने दर्शकहरु विश्वभर व्यापक रुपमा रहेको पाइन्छन्।

इरफानको खानको जन्म सन् १९५७ मा भएको थियो। इरफान खानलाई सन् २०११ मा उनको अभिनयको सम्मानार्थ भारत सरकारले पद्मश्री उपाधि उपाधिबाट विभूषित गरेको थियो। गत शनिवारमात्र इरफान खानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो। लकडाउनका कारण इरफान खानले आमाको अन्तिम संस्कारमा सहभागी हुन पाएका थिएनन्। भिडिओ कलबाट उनले धार्मिक विधिअनुसार गरिएको अन्तिम संस्कारमा सहभागिता जनाएको बताइएको छ।

रोगबारे थाहा भएपछि अरफान खान उपचारका लागि लण्डन पनि गएका थिए। एक वर्ष त्यहाँ उपचार गराएर अरफान गत मार्च २०१९ मा भारत फर्किएका थिए। अरफान खानको निधनमा भारत तथा अन्य देशबाट धेरैले शोक व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा धेरैले उनको मृत्युमा दुःख व्यक्त गरेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले खानको निधनका कारण चलचित्र क्षेत्रमा ठूलो क्षति भएको जनाएका छन्। चर्चित अभिनेता अमिताभ बच्चनले खानको निधनले ठूलो रिक्तता सिर्जना गरेको भन्दै खान प्रतिभाशाली र शालीन व्यक्ति भएको उल्लेख गरेका छन्। नेपाली रङ्गकर्मी सुनील पोखरेलले पनि फेसबुकमा खानलाई आफूले सधैँ सम्झिरहने लेखेका छन्।
प्रकाशन मिति–२०७७ बैशाख १७ गते बुधवार।