ललितपुर । नेपालका ख्यातिप्राप्त कलाकार अजय देसारको योड्ग पिकासोमा आवद्ध कलाकारहरुव्दारा दुई बर्षअघि सिद्धहस्त इतिहासविद शताव्दी पुरुष १०२ बर्षका देवतुल्य सत्यमोहन जोशीलाई क्यानभासमा उतारिएका चार सयमध्ये चालिस चित्रको प्रदर्शनी भएको छ। त्यो पनि शताव्दी पुरुष सत्यमोहन जोशीकै निवास ललितपुरको च्यासल बकुम्बहाल स्थित लोक साहित्य प्रतिष्ठानको भवनमा भएको हो ।

मंसीर २० गते सोमवारवाट शुभारम्भ भएको प्रदर्शनीमा हजारौले अवलोकन गरिसकेको जानकारी आयोजक योङ्ग पिकासोका अध्यक्ष तथा महाप्रवन्धक अजय देसारले भिजन संसार डटकमलाई वताएका छन्। प्रदर्शन हेर्न पुगेकी ख्यातिप्राप्त नेपाली आधुनिक संगीतकी गायिका देविका बन्दनाले यो अतुलनीय प्रदर्शनी भएको र देवतुल्य सत्यमोहन बा को दर्शन र आशीर्वाद प्राप्त हुनु जीवनकै अमिट उपलव्धी भएको प्रतिक्रिया दिएकी छन्।

“सत्यमोहन बा” नामवाट चित्रकला प्रदर्शनमा राखिएका चित्र बिक्रीबापत संकलित कूल रकममा ३५ प्रतिशत कलाकार, २० प्रतिशत लोक साहित्य भवन र १५ प्रतिशत योङ पिकासो तथा बाँकी ३० प्रतिशत गाउँगाउँमा गएर कला विकासका लागि खर्चिने आयोजक योङ्ग पिकासोकी कार्यकारी प्रमुख सितु मास्के देसारले बताएकी छन्। प्रदर्शनी मंसीर २५ गते शनिवारसम्म हुने भएको छ।

प्रकाशन मिति–२०७८ साल मंसीर २२ गते बुधवार ।