ललितपुर । नेपालभाषाको पछिल्लो सुपरहिट चलचित्र बसन्त ऋतुले ललितपुरको अग्नी पीडित परिवारलाई सहयोग गरेको छ। ललितपुरको ग्वार्को स्थित गुण सिनेमा हलमा चलचित्र बसन्त ऋतको च्यारिटी प्रदर्शन गरेर उठेको रकम ललितपुरको मंगलवजारमा हालै खाना पकाउने ग्यांस सिलिण्डर पडकेर एकै परिवारका चारजनाको ज्यान गुमाएको अग्नि पीडित परिवारलाई सहयोग गरेको हो ।

शनिवार बसन्त ऋतु प्रदर्शनवाट उठेको नगद १ लाख ५५ हजार ५ सय रुपैया अग्नि पीडित परिवार अनार ताम्राकारलाई यल ज्ञानमाला संघका अध्यक्ष डबल शाक्यले प्रदान गरेको जानकारी चलचित्र बसन्त ऋतुका लेखक तथा निर्देशक पवन जोशीले भिजन संसार डटकमलाई दिएका छन्। यल ज्ञानमाला संघको आयोजनामा गुण सिनेमा हलमा चलचित्र बसन्त ऋतुको च्यारिटी शो भएको थियो।

शनिवार भएको दुवै च्यारिटी शो हाउसफुल नै भएको थियो। चलचित्र बसन्त ऋतु हेरेर फर्केपछि नेपालभाषाको अर्को चलचित्र आशाकुटीका निर्माता बुलाल महर्जनले चलचित्र गजब राम्रो लागेको प्रतिक्रिया दिएका छन्। कार्यक्रममा चलचित्र बसन्त ऋतुका कलाकार–प्राविधिकको अलावा लेखक तथा निर्देशक पवन जोशीलाई आयोजक यल ज्ञानमाला संघले सम्मान प्रदान गरेको थियो । सम्मान कार्यक्रमको लगतै पवन जोशीकै निर्देशनमा बौद्धकालिन चलचित्र निर्माण गर्ने घोषणा समेत यल ज्ञानमाला संघले गरेको छ।

प्रकाशन मिति–२०७८ साल मंसीर २५ गते शनिवार ।