लण्डन । बेलायतमा नेपाली चलचित्र, नाटक तथा नेपाली म्यूजिक भिडियोको विकास, प्रचारप्रसार तथा बेलायतमा नेपाली चलचित्रको बजार प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक नेपाली चलचित्र महोत्सवको आयोजना गरेको छ। बेलायतस्थित नेपाली राजदूतावासको आयोजनामा महोत्सव भएको हो।

महोत्सवमा बेलायतमा क्रियाशिल नेपाली चलचित्रकर्मीहरुलाई नेपाली राजदूतावासले सम्मान गरेको छ । मंगलबार साँझ दूतावासमा ‘नेपाली चलचित्र महोत्सव’ आयोजना गरी बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले उनीहरुलाई सम्मान गरेका हुन्।

लामो समयदेखि बेलायतमा रहेर नेपाली कला क्षेत्रमा योगदान पुरयाएबापत राजदूत सुवेदीबाट विशेष सम्मान पाउनेमा अग्रज रंगकर्मी तथा चलचित्र निर्देशक सनमकुमार बैराग रहेका छन्। त्यसैगरेर, अर्का निर्देशक कुशल श्रेष्ठ पनि सम्मानित बनेका छन्। सम्मानित बैराग तथा श्रेष्ठ दुवैलाई नेपाली खुकुरी, पुष्पगुच्छा र मायाको चिनोसहित राजदूतले सम्मान गरेका थिए।

त्यसअवसरमा राजदूतबाट सम्मानित हुने अन्य चलचित्रकर्मीमा नायक ध्रुव दत्त, नायिका मिरुना मगर, अभिनेता मनिष कुमार श्रेष्ठ, निर्माता निकेश लिम्बू, निर्देशक प्रेम लामा, सपन इन्टरटेनमेन्टका निर्देशक सपनकुमार राई, मोडल रोश्ना कार्की र विष्णु खरेल लगायत थिए । महोत्सवमा बेलायतमा निर्मित नेपाली चलचित्र, नाटक र म्यूजिक भिडियोहरुको प्रदर्शन गरिएको थियो।

महोत्सवमा राजदूत सुवेदीले लेखेका ‘दुख्ने मुटु’ र ‘अधर’ बोलका दुई गीतमा निर्देशक कुशल श्रेष्ठद्वारा निर्देशित म्यूजिक भिडियोहरु तथा निर्देशक सनमकुमार वैरागद्वारा निर्देशित ‘शून्य’ नामक लघु चलचित्रको लोकार्पण गर्ने कार्य भएको थियो।

महोत्सवमा बेलायतमा निर्माण भएका नेपाली चलचित्रहरुलाई समेटेर तयार गरिएको संक्षिप्त भिडियो प्रस्तुत गरिएको थियो । साथै, नाटक तथा चलचित्र निर्देशक तथा कलाकार वैरागले बेलायतमा नेपाली चलचित्रको विकास र विस्तार सम्बन्धी कार्यपत्र पनि प्रस्तुत गरिएको थियो।


प्रकाशन मिति–२०७७ साल असोज २२ गते विहीवार ।