काठमाडौं। द कमाण्डो तथा छहारी जस्तो सुपरहिट फिल्मकी अब्बल दर्जाकी नायिका अनिता केसीको अभिनय यात्रा नाटकवाटै भएको हो। यो हालसम्म अनिता केसीको लुकेको रहस्य नै हो।

पच्चीस बर्षअघि विसं.२०५२ साल फागुन ११ गते सनम कुमार बैरागव्दारा लिखित रंगमंचको हिट नाटक सत्यानाशवाटै नायिका अनिता केसीको कलाकारिता यात्रा शुरु भएको खुलासा नायिका केसी आफैले भिजन संसार डटकम मार्फत गरेकी छन्।

त्यो बेला भर्खरै पाँच बर्षको छोरो बोकेर नाटक सत्यानाशवाट कलाकारिताको यात्रा गरेको तथा पाँच बर्षको छोरालाई एक ठाउंमा राखेर अभिनेता सनम कुमार बैराग लगायतका नाटक सत्यानाशका कलाकारहरुसंग महिनौ रिहर्सल गरेर एक दिन मात्र मञ्चन भएको नाटक सत्यानाश निक्कै नै हिट मानिएको नाटक भएको दावी नायिका केसीको रहेको छ।

फ्रान्सेली केन्द्रको संयोजकत्वमा समानान्तरको प्रस्तुति रहेको नाटक सत्यानाशको निर्देशन तत्कालिन संचारकर्मी समेत रहेकी शोभा चन्दले गरेकी थिइन्। त्यो पल र त्यो क्षणले नै आफूलाई अब्बल दर्जाको कलाकार बनाउन मदत गरेको वताउने नायिका केसी अभिनयको आफ्नो पहिलो नायक सनम कुमार बैराग भएको गर्बका साथ वताउंछिन्।

सनम कुमार बैराग आफै लेखक तथा निर्देशक भएको कारण नाटक सत्यानाशको अभिनय रिहर्सलको बेला धेरै कुरा बैरागवाट सिक्न पाएको सगौरब बताउंदै बैरागलाई आफ्नो अभिनयको अभिभावक निर्देशक भन्न रुचाउंछिन्। त्यसपछि गाईजात्रे प्रहर्सनहरुमा प्रस्तुत भएतापनि रंगमञ्चमा त्यति फर्कन नपाएको र चलचित्रमा नै व्यस्त भएको नायिका केसीले भनेकी छन्।

नायिका केसीको पहिलो नायक सनम कुमार बैराग पनि आफूहरु सत्यानाशको नायक तथा नायिका भएतापनि सत्यानाश नभएको र निरन्तर कलाकारितामा लागिरहेका कलाकार भन्न रुचाउछन्। सनम कुमार बैरागले त्यसपछि धेरै नाटक तथा चलचित्रमा अभिनय गरेपश्चात बेलायत पुगेपनि बेलायतमा पनि नाटक मञ्चन गर्न र गराउन सफल नाट्यकर्मीको रुपमा सावित भएका छन्।

बेलायतको इतिहासमा तीन नाटक समय दृश्य, जीगिषा र भीमसेन थापालाई सफलतापूर्वक मञ्चन गरेर नौलो इतिहास कायम गर्ने कार्य बैरागवाट भएको छ। पछिल्लो समय बैरागव्दारा निर्देशित चलचित्र कैदीको पत्र प्रदर्शनको लागि तयार छ।
प्रकाशन मिति–२०७८ साल भाद्र ८ गते मंगलवार ।