काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणका कारण मुम्बईको नानावती अस्पताल भर्ना भएका बलिउडका महानायक अमिताभ बच्चनको कोरोनाभाइरस संक्रमण रिपोर्ट नेगेटिभ आएको छ। १२ दिनअघि कोरोना पोजेटिभ देखिएपछि मुम्बईको नानावती अस्पताल भर्ना भएका अमिताभको पछिल्लो स्वाब टेस्ट रिपोर्ट नेगेटिभ आएको हो।

यद्यपि, महानायक अमिताभ बच्चनको अझै दुई वटा टेस्ट गर्न वाँकी रहेको भारतीय समाचार माध्यमहरुले उल्लेख गरेको छ। ती परीक्षणको रिपोर्टका आधारमा अमिताभ बच्चन डिस्चार्ज हुनेछन्। लगातार तीन वटा परीक्षण नेगेटिभ आएमा चाँडै डिस्चार्ज गरिने अस्पतालले जनाएको छ।

अमिताभ बच्चनका छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय र नातिनी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण देखिएको छ। उनीहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।
अस्पतालका अनुसार अभिषेक बच्चनको सबै रिपोर्ट नेगेटिभ आएको छ। ऐश्वर्या राय र आराध्याको रिपोर्ट भने आएको छैन।


प्रकाशन मिति–२०७७ साल साउन ८ गते विहीवार ।