काठमाडौं। नेपाली चलचित्रका महानायक राजेश हमालका एकमात्र भाइ राकेश हमालको निधन भएको छ। सामाजिक अभियन्ता तथा निर्माण व्यवसायी रहेका राकेश हमालको बुधवार उपचारका क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको हो।

राकेश हमाल लामो समयदेखि कलेजो सम्बन्धी रोगबाट ग्रसित थिए। कलेजो प्रत्यारोपण गरेका राकेश हमालको स्वास्थ्यमा समस्या देखिएपछि लकडाउनको समयमा विमान चार्टर गरेर भारतको नयाँ दिल्ली लगिएको थियो।

एकमात्र सहोदर भाइ राकेश हमालको निधनपछि बुधवार मध्यराति महानायक राजेश हमालले फेसबुकमार्फत दिवगंत भाइ राकेश हमाललाई सम्झिएर विव्हल वनेका छन्। महानायक हमालले भाइसँग बाल्यकाल र केही समयअघि सँगै खिँचेका तस्विर सार्वजनिक पनि गरेका छन्।

अनि लेखे, ‘गुडबाई डियर काकु। तिम्रो आत्मालाई सधै शान्ति मिलिरहोस्।’ महानायक हमालले आफ्नो भाइलाई काकु भनेर सम्बोधन गर्ने गरेका छन्।


प्रकाशन मिति–२०७७ साल साउन ८ गते विहीवार ।