काठमाडौं। केही दिनदेखि ओखरपौवा सिसडोलमा फोहर फाल्न नदिएर अवरोध भएकोमा शुक्रवारवाट उक्त अवरोध हटेको छ। काठमाडौँ महानगरपालिका, ककनी गाउँपालिका र धुनिवेँसी नगरपालिकाबिच ७ बुँदे सहमति भएपछि फोहोर व्यवस्थापनको अवरोध हटेको हो।

सहमतिपछि शुक्रवार नै १५३ गाडी फोहोर ल्याण्डफिल साइटमा विसर्जन गरिएको छ। जसमध्ये काठमाडौं महानगरपालिकाले २३ गाडी र निजी क्षेत्रले १३० गाडी फोहोर विसर्जन गरेका जानकारी काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले दिएका छन्।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, धुनिवेँसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यसहित जनप्रतिनिधि र स्थानीय प्रभावितसहितको छलफल र सहमतिपछि ७ दिनसम्म रोकिएको फोहोर व्यवस्थापनको अवरोध हटेको हो।

फोहरको समस्यावाट काठमाडौं महानगर आक्रान्त भएको अवस्थामा आफ्नो आँखामा आएको समस्यालाई पनि परवाह नगरिकन विरामी अवस्थामै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सहमति गराएरै अवरोध हटाउन सफलता प्राप्त गरेका हुन।


प्रकाशन मिति–२०७७ साल चैत्र २० गते शुक्रवार ।