–श्याम स्मृत
काठमाडौं। नेपाली चलचित्र उद्योगका नामी डान्स डाइरेक्टर गोविन्द राईको डिमाण्ड हिजोआज विदेशमा निक्कै हुन थालेको हो। जसको कारण डान्स डाइरेक्टर राईको विदेशमा व्यस्तता बढ्ेको हो।
६ महिनाअघि मात्र विश्वको बैभवशाली मुलुक अमेरिकामा कामको सिलसिलामा पुगेका राई यतिखेर अमेरिकाको महंगो शहर न्यूयोर्कमा रहेका छन्। यसअघि बाल्टीमोरमा डेढ महिना वसेर आफूभित्रको कलाकारितालाई पोखेका राई न्यूयोर्कमा पनि ६ बर्षदेखि २६ बर्ष उमेरसम्मका लागि नेपाली टिपिकल कल्चर डान्स देखि मोडर्न डान्स सिकाउन व्यस्त छन्।

न्यूयोर्कमा गत मे महिनामा भएको नेपाल–डे प्रोग्राममा पनि आफूभित्रको बेग्लै कला–कौशलता प्रदर्शन गरेर स्वदेशी तथा विदेशीहरुमाझ चर्चा पाएका राई भिजिट भिषामा अमेरिका पुगेका हुन। अमेरिका कुनैबेलाका नामी नायिका जलशाह देखि अरुणिमा लम्साल, उषा पौडेलसम्म र नेपाली ज्याँकी च्याङ नामवाट व्यापक चर्चा पाएका नायक अमृत लामासम्म भेट्दा अमेरिका बस्दा पनि नेपालमा नै बसेको अनुभव भएको वताउने राईले ३ बर्षअघि मात्र क्यानडा पुगेर त्यहाँ ६ बर्षदेखि ६० बर्षसम्मकालाई नेपाली डान्स सिकाएर व्यापक चर्चामा आएका थिए।

न्यूयोर्क बसाईकै क्रममा तीजका गीत खोज्दैछु डलर बरैलै बोलको भाका देखि फूलबुट्टे सारी लाएर सम्मका भाकाका तीज गीतका भिडियोको कोरियोग्राफी तथा निर्देशन गर्ने कार्य पनि राईले गरेका छन्। उनको कामको स्वदेशी देखि विदेशीसम्मले दिल खोलेर तारिफ गर्ने गरेका छन्। जुन आफ्नो लागि परदेशको भूमिमा अत्यन्त गौरब लाग्ने गरेको अमेरिकावाट नामी साप्ताहिकसंग कुराकानी गर्दै राईले वताएका हुन।

त्यस्तै, बेलायत, हङकङ, सिगापुर, मलेसिया, दुबई लगायतका देशहरुमा बेला–बेलामा पुगेर नेपाली टिपिकल कल्चर तथा मोडर्न डान्स सिकाउने कार्य गर्दैआएको राईले वताएका छन्। नेपालमा मात्र सिमित नभइकन विश्वभर आफूभित्रको विलक्षण कलाकारितालाई फैलाउने कार्य राईवाट भएको कारण उनलाई इन्टरनेशनल नेपाली डान्स डाइरेक्टर भन्न थालिएको हो। यसैमा आफूलाई अत्यन्त गौरबता लागेको दिलैदेखि भन्न राई चुक्दैनन्।

पूर्वी नेपालको सुनसरी धरानको रत्नचोकमा विसं.२०२७ साल पुष २७ गते पिता रामवहादुर राई र माता भीमाकुमारी राईको कोखवाट जन्मिएका गोविन्द राईको कला यात्राले ३० बर्ष पूरा गरिसकेको छ। यसअवधिमा ३ सय चलचित्रमा डान्स डाइरेक्सन गरिसकेका छन्। सयौं म्युजिक भिडियोहरुमा कोरियोग्राफी गरिसकेका छन्। नेपाली चलचित्र उद्योगका एक से एक कलाकारका उनी आदर्श गुरु हुन। सवैले उनलाई आदरणिय गुरुदेव भनेर ढोग गर्ने गर्छन्।

संघर्षको बेला काठमाडौंको मैतिदेवीमा द एञ्जल कला केन्द्र स्थापना गरेर कैयन डान्सका कलाकार जन्माउन सफल राई मैतिदेवीकै न्यू समिट बोर्डिङ हाइस्कुलमा १० बर्ष डान्स टिचर बनेर टिचिङ पनि गरेका थिए। आफूले डान्स डाइरेक्सन गरेको पहिलो चलचित्र भिडियो चलचित्र भएको र त्यो पनि भुटानी शरणार्थीको कथावस्तुमा रहेको वताउने उनी त्यस चलचित्रको नामै ज्वालामुखी भएको वताउंछन्।

ठूलो पर्दाको चलचित्रमा डान्स डाइरेक्सन गरेको चलचित्रको नामै चलचित्र भएको बताउंछन्। जसमा दीपाश्री निरौला, सोनिया मल्ल देखि सारंगा श्रेष्ठसम्मलाई नचाउन सफल भएको भन्छन्। त्यसपछि भाग्य र कर्मले क्रमिक रुपमा साथ दिएपछि पछिल्लो चलचित्र परदेशी–२ सम्म आइपुग्दा ३ सय नेपाली चलचित्रमा थाहै नपाइकन काम गर्न भ्याइसकेको गौरबता पनि आफूसंग रहेको उनले दिल खोलेर बताएका छन्। यसवीच, गोर्खा पल्टन, नैना–रेशम जस्ता चलचित्रवाट बेस्ट डान्स डाइरेक्टरको अवार्ड तथा अन्य चलचित्रवाट पनि दर्जनौ सम्मान पाएको भन्छन्।

नेपाली चलचित्रका सदावहार नायिका करिश्मा मानन्धरलाई बेस्ट फ्रेन्ड अनि मौसमी मल्ललाई धर्म दिदी भन्न रुचाउने राई करिश्मा मानन्धरकै निर्माण रहेको आऊ संगी हो गाउन बोलको भाका रहेको तीज गीतका रचयिता गीतकार हुन। मुड चलेको बेला गीत लेख्न र गुनगुनाउन पनि रुचाउने राई काममा नै अत्यन्त व्यस्त भएकै कारण विवाह गर्न भुलेको बताउंछन्। कर्म नै आफ्नो श्रीमती भएको भन्न उनी रुचाउंछन्।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७९ साल साउन २८ गते शनिवार ।