काठमाडौं। नेपाली संगीत आकाशका मूर्धन्य स्रष्टा सुविख्यात संगीतज्ञ राजु सिंह सुविख्यात सम्मानवाट सम्मानित बनेका छन्। त्यो पनि नेपाली संगीत आकाशका महान स्रष्टा गोपाल योञ्जनको नामवाट स्थापित सम्मानवाट सम्मानित बनेका हुन। अजर अमर संगीतकार गोपाल योन्जनको ८० औं जन्मजयन्तीको अवसरमा नेवाः साधना कला केन्द्रको आयोजनामा भएको भव्य सांगितिक कार्यक्रममा संगीतका महासागर राजु सिंहलाई गोपाल योन्जन एचिभमेंट अवार्ड प्रदान गरिएको हो।

नेवाः साधना कला केन्द्रका संस्थापक बागमती भाइ सुन्दरमान श्रेष्ठको सभापतित्वमा सम्पन्न समारोहमा वरिष्ठ संगीत विश्लेशक तथा चलचित्र निर्दशक प्रकाश सायमीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा आयोजक संस्थाका सदस्य एवम् प्रतिष्ठित गायिका रोजी डंगोल श्रेष्ठले स्वागत भाषण गरेको कार्यक्रमा इन्दिरा कलानिधि महाविद्यालयका प्रमुख तथा विशिष्ट संगीतज्ञ धनबहादुर गोपालीका साथमा गीतकारहरु भुषण खरेल र विश्व बल्लभले गोपाल योन्जनका विविध पक्षमा प्रकाश पारेका थिए।

विशेष सम्मान तथा सांगीतिक कार्यक्रममा रोजी डंगोल श्रेष्ठ , शुद्धलक्ष्मी श्रेष्ठ, राज गोपनलि, उत्तरा मानन्धर,शैलेश सिंह, देवेन्द्रमान सिंह,किशोर शाही,बिजय मानन्धर, सुरेन्द्र श्रेष्ठ, सतिश महर्जन,कैलाश भुसाल, माधव दाहाल, सिद्दार्थ श्रेष्ठ लगायतले गोपाल योन्जनद्वारा संगीतबद्द गीतहरु प्रस्तुत गरेर समारोहलाई उत्कर्षमा पुर्याएका थिएभने विशेष क्षमता बोकेकी प्रतिभा रुबी वैद्यको विशेष प्रस्तुतिले पनि रौनकता थपेको थियो। गोपाल योन्जन एचिभमेंट अवार्डवाट सम्मानित स्रष्टा राजु सिंहले यो सम्मानलाई अझ धेरै जिम्मेवार वनाएको र धेरै कार्य गर्न थप प्रेरणा मिलेको भिजन संसार डटकमसंगको कुराकानीमा भनेका छन्।

प्रकाशन मिति–२०७९ साल साउन २८ गते शनिवार ।