काठमाडौं। नेपाल चलचित्र कलाकार संघले सम्पूर्ण कलाकार सदस्यसँगै सबै नागरिकलाई बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ (कोरोना) रोगको संक्रमणबाट सुरक्षित रहन अपिल गरेको छ। संघका अध्यक्ष रबिन्द्र खड्काले बिहिबार विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् ।

 

हालै नेपाल सरकारबाट गठित उच्चस्तरीय समितिले गरेको निर्णय वर्तमान अवस्थामा नागरिक कल्याण र सतर्कताका लागि उपयुक्त कदम भएकोले नेपाल चलचित्र कलाकार संघ सो निर्णयको स्वागत गर्दछ भन्दै अध्यक्ष खड्काले विज्ञप्ति जारी गरेका छन्।

‘रोगको संक्रमणबाट सुरक्षित रहन हामी नागरिकले पनि उच्च सतर्कता अपनाउन अहिलेको सन्दर्भमा जरुरी भइसकेको छ । कोरोना भाइरस संक्रमणबाट बच्न डर त्रास फैलाउनु भन्दा सुरक्षित रहन सार्बजनिक स्थानमा हिडडुल नगर्ने, साबुन पानीले हात धुने, भेला जमघट नगर्ने लगायतका उपायहरु अवलम्वन गर्न पनि संघ सम्पूर्ण चलचित्रकर्मीहरुमा अनुरोध गर्दछ।’
प्रकाशन मिति–२०७६ साल चैत्र ७ गते शुक्रवार ।