काठमाडौं। नेपाल सरकारले कोरोना भाइरसको जोखिम नियन्त्रण तथा रोकथाम गर्न भिडभाड नियन्त्रण गर्न कडा कदम चालेको छ। २५ जनाभन्दा बढी मानिसहरु भेला हुन नपाउने र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सरकारले निर्देशन दिएको छ।

भिडभाड नियन्त्रणको अनुगमन गर्न राज्यका विभिन्न संयन्त्रहरु परिचालन हुने छन्। प्रदेश सरकार र स्थानीय सरकारसहित विभिन्न संयन्त्र परिचालन हुने सरकारले जनाएको छ। सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरन्जन स्थल, क्लब आदिलाई अप्रिल ३० सम्म बन्द गरिएको छ। यसको अनुगमन गृह मन्त्रालयसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार मन्त्रालयले गर्नेछन्।

अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न र सांस्कृतिक, सामाजिक एवं त्यस्तै कार्यक्रमहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चलगायत धार्मिक तथा सांस्कृतिक क्षेत्रहरुमा २५ जना भन्दा बढीको भिड नबनाउन निर्देशन दिइएको छ। यसको अनुगमन गृह मन्त्रालयसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछन्।

सार्वजनिक सवारी साधनमा हुने सम्भावित भिडभाडको अनुगमन नेपाल प्रहरीले गर्ने छ। सार्वजनिक सवारी साधनमा कोरोना निर्मुल बनाउने कामको अनुगमन नेपाल प्रहरी र यातायात व्यवस्था विभागले गर्ने छ।
प्रकाशन मिति–२०७६ साल चैत्र ७ गते बुधवार ।