काठमाडौं। नेपाली चलचित्रका विशिष्ट कलाकार नीर विक्रम शाहले नेपाल चलचित्र कलाकार संघको संरक्षकबाट राजिनामा दिएका छन्। कार्य व्यस्तताका कारणले विशिष्ट कलाकार शाहले राजिनामा दिएका हुन।

शाहले दिएको राजिनामा संघको मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन संघको कार्यालयमा संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले स्वीकृत गरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संघका प्रवक्ता तथा उपाध्यक्ष मोहन निरौलाव्दारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल चलचित्र कलाकार संघको स्थापनाकाल देखि नै विशिष्ट कलाकार शाहले पुर्याएको क्रियाशीलता एवं योगदानको स्मरण गर्दै आफ्नो कार्यकालमा दिएको योगदानलाई हार्दिक धन्यवाद पनि दिने निर्णय गरेको उल्लेख छ।

शाहको राजिनामा पश्चात रिक्त भएको स्थानमा संघको विधानको परिच्छेद ५ दफा १८ उपदफा (क)ले दिएको अधिकार प्रयोग गरी विशिष्ट कलाकर्मी हरिवंश आचार्यलाई संरक्षकमा नियुक्त गरेको पनि संघले जनाएको छ। नव नियुक्त संरक्षक आचार्यको पदावधी वर्तमान कार्यसमितिको कार्यकालसम्म रहने छ।

नव नियुक्त संरक्षक हरिवंश आचार्य विगत ४ दशक भन्दा बढी समय देखि नेपाली कला, संस्कृति, रंगमञ्च, नेपाली चलचित्र क्षेत्रको संरक्षण सम्वद्र्धन तथा नेपाल चलचित्र कलाकार संघको स्थापनाकाल देखि चलचित्र क्षेत्रको उत्थानमा क्रियाशील कलाकर्मी भएको विज्ञप्तिमा उल्लेख रहेको छ।

प्रकाशन मिति–२०७६ साल फागुन २७ गते मंगलवार ।