काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको काठमाडौंलाई स्मार्ट–सिटी बनाउने सोच र सपना अनुरुप काठमाडौं महानगरपालिकाका विभिन्न ६ स्थानमा निःशुल्क वाइफाइ सेवा शुरु भएको छ।

हनुमानढोका,पशुपतिनाथ,स्वयम्भु,बौद्धनाथ, बालाजु बाइसधारा उद्यान तथा शंखपार्क महाराजगञ्जमा निःशुल्क वाइफाइ सेवा सुरू गरिएको हो।

वर्ल्ड लिंकको साझेदारीमा सुरू गरिएको सो सेवाको भगवान पशुपतिनाथको पावन भूमि पशुपतिमा काठमाडौं महानगरपालिकका मेयर विद्यासुन्दर शाक्यले आइतवार कृष्णाजन्माष्टमीको अवसरमा शुभारम्भ गरेका छन्। काठमाडौं महानगरपालिकाको स्मार्ट सिटी बनाउने नीति अनुसार हाललाई काठमाडौंको मुख्य ६ स्थानहरूमा फ्रि वाइफाइ सेवा सञ्चालनमा ल्याइएको मेयर शाक्यले स्पष्ट पारेका छन्।

यसरी नै काठमाडौं महानगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गर्न प्रविधि संवन्धी अन्य थप कार्यलाई पनि तिब्रता दिने कार्य भैरहेको र त्यो कुराको चाँडै नै महानगरवासीले अनुभुत गर्न पाउने जिकिर मेयर शाक्यले गरेका छन्। मेयर शाक्यले काठमाडौंको धर्मपथमा ‘स्मार्ट पाटी भवन’ निर्माण गर्ने घोषणा पनि गरे। त्यसको लागि नीजि क्षेत्रसंग सहकार्य गर्नका लागि टेण्डर आव्हान लगायतका प्रक्रिया पनि शुरु गरिसकेको मेयर शाक्यले भनेका छन्।

निःशुल्क वाइफाइ सेवालाई शुरुवात गर्न काठमाडौं महानगरपालिका र वर्ल्ड लिंकबीच गत चैत १८ गते नै समझदारी भएको थियो। यसबीचमा परीक्षण गरेपछि मात्रै सो सेवाको औपचारिक उद्घाटन गरिएको जानकारी पनि मेयर शाक्यले दिएका छन्। यी क्षेत्रमा मोबाइलमा अटोमेटिक वाइफाइ कनेक्ट हुने व्यवस्था गरिएको छ।
प्रकाशन मिति–२०७५ साल भदौ १७ गते आइतवार ।