काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको जोखिम काठमाडौंमा देखिने व्यापक संभावनालाई मध्यनजर गरेर काठमाडौं महानगरपालिकाले महानगरवासीलाई सतर्कता अपनाउन अपिल गरेको छ। काठमाडौं महानगरपालिकाको पचासौँ नगर कार्यपालिका बैठकले बैठकलाई सम्वोधन गर्ने क्रममा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उक्त अपिल गरेका हुन।

लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यका बाहिरबाट भित्रिनेहरुको सङ्ख्यामा वृद्धि हुँदा जोखिम बढेको छ । यस्तो बेलामा हामी सबैले सतर्कता अपनाउनुको अर्को विकल्प नभएको मेयर शाक्यको ठहर रहेको छ। मेयर शाक्यले अझै पनि गृह प्रशासनले असुरक्षित रुपमा काठमाडौं उपत्यका प्रवेश गर्नेलाई नियन्त्रण नगर्ने हो भने काठमाडौं उपत्यकाको अवस्था भयावह हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

अहिलेसम्मको रिपोर्टलाई आधार मान्ने हो भने काठमाडौं उपत्यका बाहिरबाट प्रवेश गर्नेहरुमै बढी कोरोना संक्रमण देखिएको भन्दै मेयर शाक्यले उनीहरुबाटै समूदायमा समेत कोरोना संक्रमण फैलिन सक्ने संभावना भएकाले सबै भन्दा पहिला काठमाडौं उपत्यका प्रवेशका क्रममा सावधानी अपनाउन आवश्यक भएको भन्दै कोरोना संक्रमण फैलिन नदिनका लागि घरधनी र सर्वसाधारण पनि सचेत हुनुको अर्को विकल्प नभएको वताएका छन्।

त्यसैगरेर, काठमाडौँ महानगरपालिकाले गाईजात्रालगायतका अन्य चाडपर्वलाई पनि विधि पुर्याउन घर–घरमै मनाए पनि भिडभाड भने नगर्न आग्रह गरेको छ। कोरोना कहरलाई ध्यानमा राखेर काठमाडौँ महानगरपालिकाको नगर कार्यपालिका बैठकलले यस्तो विषम परिस्थितिमा भिडभाड गरेर जात्रा–पर्व नमनाउन सबै महानगरवासीलाई अपिल गरेको छ। दिगंवत भएका आफन्तहरुको सम्झनामा मनाउँदै आएको गाईजात्रा पर्वलाई यो पटकका लागि विधि पूरा गरेर आ–आफ्नो घरमा मात्रै मनाउन पनि मेयर शाक्यले आग्रह गरेका छन्।


प्रकाशन मिति–२०७७ साल साउन १५ गते विहीवार ।