काठमाडौं। नेपालको जेठो तथा पहिलो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यकी छोरी पलिस्था शाक्यले प्लाज्मा दान गरेकी छन्। शुक्रबार पलिस्था शाक्यले कान्तिपुर अस्पताल तीनकुनेमा पुगेर प्लाज्मा दान गरेकी हुन्।

मेयर शाक्यका अनुसार, मेयर शाक्यलाई कोरोना संक्रमण भएको केही दिनपछि मेयर शाक्य पत्नी र छोरीलाई पनि पोजेटिभ देखिएको थियो। हाल मेयर परिवारले कोरोनालाई जितेर स्वस्थ जीवनमा फर्किएका छन्। मेयर शाक्यकी छोरी पलिस्था शाक्यले दान गरेको प्लाज्माबाट कोभिड र निमोनियाका कारण बिरामी भई ओम नर्सिङ होममा उपचार गराइरहेकी काठमाडौं महानगरपालिका वडा नंबर ४ की ७६ वर्षीया महिलाको उपचार भैरहेको छ।

यसैवीच मेयर शाक्यले कोरोना संक्रमणका कारण गम्भीर बिरामीको प्लाज्मा थेरापीमार्फत् जीवन बचाउन सहयोगका लागि ‘प्लाज्मा दान’ गर्न अपिल गरेका छन्। कोरोनामुक्त भई स्वस्थ जीवनमा फर्किएका मेयर शाक्यले कोरोनाका गम्भीर बिरामीको ज्यान बचाउन आफू प्लाज्मा दान दिन तयार रहेको भन्दै अरूलाई पनि सहयोग गर्न अपिल गरेका हुन्।

कोरोनाका कारण गम्भीर बिरामी भएकाहरूको जीवन बचाउन प्लाज्मा थेरापीले उपचारमा ठूलो सहयोग मिल्ने र संक्रमणमुक्त भइसकेकाहरूलाई ‘प्लाज्मा दान’ गर्न पनि प्रोत्साहन होस् भन्ने उद्धेश्यले आफ्नो परिवारबाटै प्जाज्मा दिन सुरूआत गरेको पनि मेयर शाक्यले बताएका छन्।


प्रकाशन मिति–२०७७ साल कात्तिक १५ गते शनिवार ।