काठमाडौं। एकजमानकी ख्यातिप्राप्त प्यारोडी गायिका समेत रहेकी कवि एवम् साहित्यकार शोभा केसीको राष्ट्रप्रेमले ओतप्रोत गीतको भिडियो सार्वजनिक भएको छ। नेपाललाई माया गरौं बोलको राष्ट्रिय गीतको भिडियो शनिवार सार्वजनिक भएको हो।

तीन बर्ष लामो मेहनत अनि कठिन परिश्रमका बाबजुद तयार भएको यस गीतको भिडियो बरिष्ठ राजनीतिज्ञ तथा समाजसेवी सुश्री भद्राकुमारी घलेको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो। मिलाप मासिकको आयोजनमा भएको कार्यक्रममा कवि एवम् साहित्यकार शोभा केसीको जन्मदिन पनि भव्य रुपमा मनाइएको थियो।

जीवनका अनेक उतारचढाव भोगेर अगाडि देखा परेकी कवि एवम् साहित्यकार केसीको उक्त गीतमा कर्णप्रिय आवाजका बुलन्द गायक आनन्द कार्की र गायिका विमला राईको गायन रहेको छ। संगीत सम्राट थापाले दिएका छन्। गीतको भिडियोमा विश्वभर रहेका नेपाली कलाकारहरुलाई समेटिएको छ।

अमेरिकामा रहेकी नायिका पूजा चन्ददेखि बेलायतमा रहेका नायक मनिष श्रेष्ठ तथा नेपालमा रहेका नेपाली चलचित्र कलाकारका राष्ट्रपति रविन्द्र खड्का, धीरेन शाक्य, जय श्रेष्ठ, ध्रुबराज थापा लगायत दर्जनौ नयाँ तथा पुराना पुस्ताका कलाकारहरुको जीवन्त अभिनय रहेको छ। भिडियोको निर्देशन अग्रज चलचित्रकर्मी मन्दिल श्रेष्ठले गरेका हुन।

प्रकाशन मिति–२०७६ साल चैत्र २ गते आइतवार ।